चोरी गरेर भागेका युवक रुखमा चढेर भन्न थाले– पक्राउ गर्नेभए आत्महत्या गर्छु !

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । फागुन २० गते (शनिबार) राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानास्थित राजकुमार क्षेत्रीको घरबाट विभिन्न सामान र नगद गरी ५ लाख रुपैयाँ बराबरको चोरी भएको थियो ।

आफ्नो घरमा चोरी भएको भन्दै राजकुमारले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दर्ता गरे । राजकुमारले दर्ता गरेको उजुरीका आधारमा प्रहरीले चोरीको घटनामा अनुसन्धान अगाडि बढायो ।

अनुसन्धानका क्रममा मकवानपुर घर भइ काठमाडौंको बसुन्धारा क्षेत्रमा बस्दै आएका खन्ती भनेर चिनिने ३६ वर्षीय सुकलाल वाइवाको संलग्नता रहेको पत्ता लाग्यो । प्रहरीले वाइवाको खोजी गरिरहेको थियो, सुकलाल आइतबार (चैत १ गते) काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै फेला परे ।

प्रहरीले उनलाई मन्दिर परिसरबाटै पक्राउ गर्न खोजेको थियो । तर, वाइवा भने प्रहरी देखेपछि त्यहाँबाट भागे । प्रहरी टोली पनि वाइवाको पछि पछि दगुर्‍यो ।

कान्ति भैरव मन्दिरबाट भागेका वाइवा गोकणर्को खोँचमा पुगे । गोकणर्को खोँचमा पुगी वाइवा रुखमा चढे । प्रहरीको टोली उनलाई रुखबाटै समात्न खोज्दै थियो । वाइवा रुखमै कराउन थाले, ‘पक्राउ गर्ने भए हाम फालेर मर्छु ।’

वाइवाले मर्छु भनेपछि प्रहरीको टोली त्यहाँबाट ‘ब्याक’ भयो । वाइवालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत्त बौद्धबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले परिसर काठमाडौंबाट थप मद्दत टोली पठाउन आग्रह गर्‍यो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डीएसपीको नेतृत्वमा टोली, विपद व्यवस्थापनको उद्दार टोली र वाइवालाइ सम्झाइ-बुझाइ गर्न प्रहरी अस्पतालको मानसिक रोग विशेष प्रहरी उपरीक्षक डा. शाशिष दत्त पनि घटनास्थल पुगे ।

गोकणर्को खोँचमा पुगेका डा आशिषले करिब १ घण्टा परामर्श (काउन्सिलिङ) गरेपछि हाम फालेर आत्महत्या गर्छु भन्ने वाइवा रुखबाट फर्किन राजी भए । त्यसपछि उनलाई करिब ४ घण्टाको प्रयास पछि प्रहरीको टोलीले गोकर्णको खोँचबाट उद्दार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार वस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार वाइवा यसअघि पनि चोरीका घटनामा संलग्न हुँदै आएका छन् । चोरी मुद्दामा नै उनी जेल बसेर समेत छुटेका हुन् ।

वाइवाविरुद्ध महानगरीय प्रहरी परिसर बौद्धमा २ वटा चोरीका मुद्दा दर्ता छन् ।


प्रतिक्रिया दिनुहोस्