प्रचण्डसँग पार्टी एकता गर्ने गोपाल किराँतीको तयारी!

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेकपाको नाम विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएका छन्।

एमाले ब्युँतिएपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष बनेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको।

यसअघि दुवै पार्टीबीच एकता भई नेकपा नाम कायम हुँदा किराँतीले माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता गरेका थिए।

तर, अब सर्वोच्चको फैसला अनुसार किराँतीले नयाँ नाम खोज्नुपर्ने भएको छ। हाल नामविहिन भएका किराँती पुनः प्रचण्डसँगै मिल्ने तयारी गरेका छन्।

सर्वोच्चको फैसलापछि निर्णय गर्न किराँतीको पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ। सो बैठकले प्रचण्डसँग पार्टी एकताको निर्णय गर्ने बुझिएको छ। किराँतीले पूर्वमाओवादीहरु एक हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस समेत लेखेका छन्।

किराँतीले लेखेका छन्, ‘धर्तीमा खुट्टा टेकेर अघि बढ्ने युगान्तकारी संकल्प गरियोस्, माओवादी तथा पूर्व माओवादीहरुबीच महाध्रूविकरणका निम्ति हामी तयार छौं।’

प्रचण्डले बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमा पुराना साथीहरु छाडेकाले आजको यो हालतमा आफू पुगेको अनुभूति आफूले गरेको बताएका थिए।

पुराना साथीहरु अब सबै एक ठाँउमा आउनुपर्ने र आफूलाई पनि सुधार्न तयार रहेको प्रचण्डको भनाई थियो। प्रचण्डको उक्त अपीलपछि किराँतीको यस्तो धारणा आएको हो।

किराँती नेतृत्वको नकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव आलोक रायमाझीले छरिएका सम्पूर्ण पूर्व माओवादीहरु एक ठाँउमा आउनुको विकल्प नरहेको बताए।

रायमाझीले भने “देश इतिहासमै सबैभन्दा जटिल मोडमा पुगेको छ, पश्चिगामी शक्तिहरु हाबी हुँदै गइरहेका छन्, ७० बर्ष लामो संघर्ष बाट प्राप्त उपलब्धिहरु माथि निरन्तर प्रहार भैरहेको छ, यस्तो बेलामा पुर्व माओवादीहरु एक ठाउँमा हुनैपर्छ र त्यो पहल हामी लिन्छौं।”

उनले प्रचण्डसँगै अन्य पूर्व माओवादीहरुसँग पनि आफूहरुले गम्भीर समिक्षा गर्दै छलफलमा बस्ने जानकारी दिए।

किराँती यसअघि विप्लव नेतृत्वको नेकपासँग मिलेर जनवादी क्रान्ति गर्ने बताउँने गरेका थिए।


प्रतिक्रिया दिनुहोस्