गोली बर्साउन तम्सिएका सैनिकले जब घुँडा टेकेर दुई हात जोडे…

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


म्यानमारमा कू गरेर सेनाले शासनसत्ता हातमा लिएपछि लगातारजसो विरोध प्रदर्शन भइरहेका छन् ।

सैन्य कूविरुद्ध भइरहेको प्रदर्शनलाई दबाउन सुरक्षाकर्मीले पनि लगातार गोली बर्साइरहेका छन् ।

सुरक्षाकर्मीको गोली लागेर हालसम्म ६८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

म्यान्मारमा जारी तनावका बीच सार्वजनिक भएको एउटा तस्वीरले भने अहिले निकै चर्चा पाइरहेको छ ।

तस्वीरमा एउटा नन (साधीका) घुँडा टेकेर बसेको देखिन्छ । उनका अगाडि हतियारसहितका सुरक्षाकर्मी छन् । दुईजना सुरक्षाकर्मीले घुँडा टेकेर हात जोडेको पनि देखिन्छ ।

सैनिक कूविरुद्धको प्रदर्शनका क्रममा सोमबार मित्यिनाको एक शहरमा ४५ वर्षीया क्याथोलिक नन एन रोज नु ट्वाङले प्रदर्शनकारीहरुको भीडमा गोली हान्नुभन्दा बरु आफैंलाई मारिदेऊ भन्दै हतियारधारी सुरक्षाकर्मीसामू घँुडा टेकेको उक्त तस्वीर अहिले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा चर्चित बनिरहेको छ ।

गोली बर्साउन तम्सिएका सुरक्षाकर्मीका अगाडि हात फैलाएर घुँडा टेक्दै उनले भनिन्, ‘बच्चाहरुमाथि गोली चलाउन बन्द गर्नुहोस् । सबैभन्दा पहिला मलाई गोली हान्नुहोस्… । म त्यतिबेलासम्म हट्ने छैन जबसम्म तपाईंहरु यहाँबाट जानुहुन्न वा मेरो मृत्यु हुनेछैन ।’

नन रोजको त्यस्तो व्यवहार देखेपछि गोली बर्साउन तम्सिएका सुरक्षाकर्मी पनि विनम्र बनेका थिए । उनीहरुले आफूसँग भएको बन्दुक तल झारे र ननका अगाडि घुँडा टेकेर दुई हात जोडे ।

सुरक्षा अधिकारीहरुले पछि त्यहाँ थप हिंसा हुन नदिइने र बल प्रयोग नगरिने विश्वास दिलाएपछि नन रोज त्यहाँबाट गएकी थिइन् ।

म्यान्मारको सेनाले फ्रेब्रुअर १ तारिखमा आङ साङ सुकीलगायत नेताहरुलाई नियन्त्रणमा लिइ शासनसत्ता हातमा लिएको थियो ।

सैनिक कूविरुद्ध अहिले म्यान्मारका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले नागरिक सरकार पुनःस्थापनाको माग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्