देउवा र प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति देउवालाई भेट्न प्रचण्ड मंगलबार अपरान्ह बुढानिलकण्ठ पुगेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

दुई नेताबीच करिब २० मिनेट छलफल भएको देउवा निकट स्रोतले जानकारी दियो । तर क विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

संसद बैठक र सरकारबारे दलहरूसँग छलफल गर्ने नेकपा माओवादी केन्द्रको निर्णय थियो ।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्‍याउन अर्को दलका सांसद आवश्यक पर्छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भेटघाट भएको हो ।


प्रतिक्रिया दिनुहोस्