फेरि पार्टी एकता गर्ने भए १५ दिनभित्र आउन एमाले र माओवादी केन्द्रलाई आयोगको आग्रह

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेको छ ।

आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णय गराएर उपस्थित हुन आग्रह गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेका दुई दललाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निर्णयसहित उपस्थित हुन भनेको हो।

‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले निर्णय गरेको छ।

आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न भनेको छ ।

आयोगले एमाले र माओवादीलाई नयाँ दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि जानकारी गराउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्