ओलीकै पक्षमा रहन माओवादी नेता मणि थापाले दिएका ४ कारण (अन्तर्वार्ता)

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका मणिचन्द्र थापा माओवादी पक्षका नेता हुन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राजनीतिक रुपमा विभाजि बन्न पुग्यो । नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्षमा विभाजित बनेसँगै पूर्व माओवादी पक्षका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा तामाङसहित मणिचन्द्र थापा प्रधानमन्त्री ओली पक्षमा लागे । त्यसमध्ये शाह, चौधरी, तामाङ र थापालाई ओलीले मन्त्री बनाएका थिए ।

यसैबीच सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको छ र, प्रचण्ड माधव समूहमा रहेका एमालेका नेताहरु पार्टी मै फर्किएका छन् तर पूर्व माओवादी पक्षका नेताहरु भने ओलीको पक्षमा रहने देखिएको छ । ति नेताहरु मध्येका एक हुन मणिचन्द्र थापा । माओवादी तर्फका अन्य नेताहरुले माओवादी केन्द्रमा फर्कने वा नेकपा एमाले मै बस्ने भन्ने सार्वजनिक अभिव्यक्ति नदिएपनि खानेपानी मन्त्रीसमेत रहेका थापाले भने आफू माओवादीमा नफर्कने बताएका छन् ।

यसै सन्दर्भ पारेर न्यूज एजेन्सी नेपालले मन्त्री थापासँग पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको छ । प्रस्तुत छ मन्त्री थापासँग गरिएको कुराकानीको सम्पादित अंश–

नेकपाका पूर्व माओवादी पक्षधरहरु प्रचण्ड माधव पक्षमा हुँदा तपाईले प्रधानमन्त्री ओलीलाई साथ दिनुभयो तर अहिले परिस्थिति फेरिएको छ, सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएको छ, अब तपाईं प्रधानमन्त्रीको साथमा हुनुहुन्छ ?

विशेषत ओलीलाई पछिल्लो चरणमा साथ दिनुको केही वैचारिक र राजनीतिक कारणहरु छन् ।

एक, नेकपालाई एकीकृत गर्न उहाँले सबैभन्दा बढी मिहेनत गर्नुभयो । दोस्रो, उहाँले स्थायित्वको कुरालाई प्रधानता दिनुभयो । स्थायीत्वसँगको समृद्धिको कुरालाई उहाँले प्राथमिकता दिनुभयो ।

तेस्रो, उहाँले नेपालको राष्ट्रवादलाई अगाडि बढाउनुपर्छ भन्ने कुरालाई वेसी गर्नु भयो । चौथो, उहाँले पछिल्लो चरणमा आउँदा नेपालको संस्कृति, नेपालको सभ्यता, पूर्वीय सभ्यता विशेषगरि नेपाली संस्कृति, सभ्यता र नेपाली मनोविज्ञान बारे आफ्नो भाषण र अन्तर्वार्तामा अलि बढी मुखरित गर्नुभयो । यो ओलीको वैचारिक आधारको नयाँ खोजि थियो । र मुख्यत स्थायित्व तिर लानका लागि नै उहाँले मुख्य भूमिका खेल्नु भएका कारणले यो आधारमा केपी शर्मा ओलीलाई साथ दिएका हौं ।

हामीले सोचेको भन्दा राजनीतिक परिस्थिति सर्वोच्च अदालतको फैसलाले हामीलाई दायाँवायाँ गरेपनि मुख्य त राजनीतिक र वैचारिक एजेण्डा नै मुख्य कुरा हो ।

फैसलाले रुपमा नाममा साइनबोर्डमा के दियो के भयो भन्ने प्रश्न भन्दा पनि नेपाली राजनीतिक आन्दोलनमा समकालिन कम्युनिस्ट नेताहरुको चरित्र विचार प्रवृत्ति, सोच्ने तरिकामा को अलि प्रग्रेसिभ छ ? को राष्ट्रवादी छ ? को अलि स्थायित्वको पक्षमा छ ? को अलि समृद्धिको पक्षमा छ ? को अलिकति इमान र जमानको पक्षमा छ ? भन्ने प्रश्नलाई मेरो विचारमा त्यसलाई आधार बनाएर मैले केपी शर्मा ओलीलाई समर्थन गरेको हुँ । हिजोको फैसला कानूनी फैसला हो । त्यो कानूनी फैसलाले राजनीतिक एजेण्डामा फरक पार्दैन भन्ने मेरो विश्लेषण हो ।

प्रधानमन्त्री ओलीलाई साथ दिँदा तपार्ईंलाई निष्ठा र नियतिको बीचमा उभ्यादिएको छ, फरक राजनीतिक धारमा हिँड्दा प्रश्न उठ्न थालेको छ ? के यो सहज होला ?

उठ्न सक्छ । यसलाई मैले अन्यथा लिन्न । नेपाली कम्युनिस्टको नियति नै यस्तै छ । क्रान्तिकारी विरासतबाट आफूलाई सुरुवात गर्ने कम्युनिस्ट भाषामा दक्षिणपन्थी विरासतमा गएर त्यसको अन्त्य गर्ने । कमरेड प्रचण्डको पनि त्यही भयो अरुको पनि त्यही भयो । मेरो पछिल्लो विश्लेषण के हो भने कम्युनिस्ट आन्दोलन आएर राष्ट्रवादी दृष्टिकोणमा आएर अडिएको छ ।

कम्युनिस्ट आन्दोलनको जनपक्षीय चरित्रमा अहिले कम्युनिस्ट पार्टीका कुनै नेताहरु पनि छैन । सबै बुर्जुवाकरण भइरहेको स्थिति हो कम्युनिस्ट पार्टीका नेताहरु । सबै बुर्जवाकरण भए भनेर हामी पनि त्यही हुनुपर्छ भन्ने होइन । हामी चाँही फस्र्ट लिडरसिप नभएको कारणले हाम्रा कुराहरु राष्ट्रिय मुद्दा कुराहरु होइनन् । त्यो हामीले भविष्यमा देखाउने कुुरा हो ।

अहिले कम्युनिस्ट आन्दोलनको मुख्य प्रवृत्ति राष्ट्रवादी धार हो । त्यसले जनपक्षीय चरित्र कम्युनिस्ट आन्दोलने पनि गुमाइसकेको हुनाले उसले राष्ट्रवादी चरित्र बचाउँछ कि बचाउँदैन भन्ने मेजर कुरा हो । यसरी हेर्दा अरु नेताहरु ओलीका समकालीन नेताहरुले राष्ट्रवादी चरित्र गुमाइसक्नु भएको छ । तर उहाँले राष्ट्रवादी चरित्र बचाइरहनु भएको छ ।

म माओवादी आन्दोलनमा हुँदा १२ बुँदे दिल्ली सम्झौताको मैले पनि विरोध गरेर राष्ट्रवादी झण्डा उठाएको हुनाले अहिले पछिल्लो चरण मैले उहाँलाई समर्थन गरेको हो । यस आधारमा हेर्दा निष्ठाका पनि विभिन्न चरित्र छन् । मेरो आफ्नो निष्ठामा म अडिग नै छु । पूरै कम्युनिस्ट आन्दोलनको चरित्र चाँहि दायाँ बायाँ भइरहँदा केही तलमाथि भइरहेकै छ ।

तपाईले विप्लवलाई नै हेर्नुभयो भने अपडाउन भयो । माओवलादी आन्दोलनलाई नै हेर्नुभयो भने अपडाउन भयो । त्यो अपडाउनबाट चाँहि चरित्र जोगाउने व्यक्तिले हो । आन्दोलनले क्यारेक्टर जोगाउन नसक्ने स्थिति बनिरहेको पनि म देख्छु । त्यसकारण मैले अहिले एजेण्डालाई समर्थन गरेको हो । र त्यो एजेण्डा पछिल्लो चरण कमरेड केपी शर्मा ओलीसँग मिल्यो । त्यो एजेण्डा भनेको राष्ट्रवाद हो ।

आन्तरिक राजनीतिले जो पक्षमा उभिनु भएको छ त्यहाँ सहज होला ? तपाईंहरुमाथि पार्टीमा समान दृष्टिले व्यवहार होला भन्ने सोच्नु भएको छ ?

पहिलो कुरा हामी आफैंले कसरी सोच्छौं भन्ने कुरा हो । अरुले कसरी सोच्छन् भन्ने कुरा मेजर कुरा होइन । हामीले समग्र आन्दोलनको हितमा राष्ट्रवादको हितमा सोचेका हौं ।

पछिल्लो चरणमा विप्लवलाई मुलधारमा ल्याउने प्रश्न, सीके राउतलाई मुलधारमा ल्याउने प्रश्न त अरु कुनै नेतृत्वले गरेन नी ! त्यो किसिमको हिम्मत त अरु कसैले गरेन नी । स्वयं हामी माओवादी धारबाट आएका नेताहरुलाई एकीकृत गर्ने कुरा र तिनीहरुलाई पनि समायोजन गर्ने कुरामा अलिकति उदार त कमरेड ओली नै देखिनुहुन्छ । त्यसकारण आफू कस्तो छु भन्ने कुराले चाँही निर्धारण गर्छ । तपाईले यहाँ जति पनि प्लेटफर्म देख्नुहुन्छ ति त्यति सुन्दर देख्नुहुन्न । सुन्दर त तपाई आफूले बनाउनुपर्छ । आफूले संघर्ष गर्नुपर्छ ।

हाम्रो पुस्ताले चाँही चुनौतीको सामना गर्नुपर्छ र हामी भन्दा अगाडिका पुस्ताले के गरे कसो गरे भनेर प्रश्न मात्र उठाएर हुँदैन । हाम्रो पुस्ताले नयाँ अवधारणाको विकास गर्नुपर्छ ।

नयाँ संस्कृति विकास गर्नुपर्छ । नेपालमा अझैपनि राजनीतिक पार्टीहरु पूर्ण रुपमा प्रजातान्त्रिक नभइसकेको स्थितिमा यस्ता उतार चढावहरु आउँछ । एउटा पिँढीले यस्ता उतारचढावहरुलाई समाधान गर्ने गरि जानुपर्छ ।

मलाई लाग्छ हाम्रो पिँढिले चाँही विषयवस्तुलाई अलि नयाँ ढंगले बुझ्ने र लागू गर्ने प्रयत्न हामीले गरेका छौं। समस्याहरु त छन् ।

तपाईसहितका नेताहरु जो पूर्वमाओवादीबाट ओलीलाई साथ दिइरहनु भएको छ, पछिल्लो राजनीतिक घटनाक्रमपछि उहाँहरुको मुड कस्तो छ ?

हामीले पछिल्लो चरण नेकपा भित्रको अन्तसंघर्षको सन्र्भमा जे जति पूर्व माओवादी पक्षका साथीहरुले समर्थन ग¥यौं मुलत ती साथीहरुले अन्तिमसम्ममै कमरेड ओलीलाई समर्थन गर्नुपर्छ भन्ने नै मैले देख्छु ।

त्यसका केही प्राविधिक समस्याहहरु छन् । ति प्राविधिक समस्याहरु कसरी हल हुन्छन् हेर्न बाँकी छ । राजनीतिक रुपमा चाँही उहाँले लिएको लाइनको पक्षमा छौं ।

पार्टी भित्र दुई लाइन संघर्ष हुँदा एकताको पक्षमा प्रचण्ड माधव नेपाललाई पनि मिलाउर जानुपर्छ मैले प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्न पनि तयार छु तर तपाईहरुले पार्टीको विधान विधि पद्दती अनुसार पर्खनुस् भन्ने खालको जो सन्देश दिन खोज्नु भयो त्यसबाट चाँही हामी अलिकति प्रभावित हौं ।

मेरै पुस्तालाई होइन दोस्रो पुस्तालाई पार्टी छोड्न तयार छु भनेर ओलीले भनिरहनु भएको छ त्यबाट पूर्वमाओवादी धारबाट आएका साथीहरु अलिबढी प्रभावित हुनु भएको छ । मुलत उहाँलाई नै समर्थन गर्ने दृष्टिकोणमा हामी जान्छौं भन्ने लाग्छ ।

सर्वोच्चको फैसलापछि सरकार र राजनीतिक परिदृश्य कता जाला जस्तो दैख्नुहुन्छ ?

सरकारको प्रश्नमा अब एकल सरकार बनाउन सक्ने स्थिति रहेन । दुई पक्षीय त्रिपक्षीय वा संयुक्त सरकारको रुपमा नै आउने बढी सम्भावना छ । त्यसे सरकारको स्थायीत्व र सरकारको काम प्रभावकारी हुने चाँही म देख्दिन ।

दुई तिहाइको सरकारबाट त जनअपेक्षा सही रुपमा सम्बोधन हुन सकेन भने अव टुटफुट बाट आएको सरकारबाट त्यस्तो हुनसक्दैन । मुख्यचाँही निर्वाचनमा नै जानुपर्छ । अब निर्वाचनमा जानुको विकल्प छैन ।

ओलीले मध्यावदी निर्वाचनको भोषणा गर्नुभएको थियो नि त्यो सही थियो तर सर्वोच्चले स्वीकार गरेन । जनतापनि ताजा निर्वाचन र जनादेशमा जान चाहन्छन् र यी झगडालु अनुहारलाई जनताले देख्न चाहेका छैनन् भन्ने मेरो विश्लेषण छ त्यसकारण निर्वाचनको प्रकृयातिर लाने बारे छलफल अघि बढाउदा ने भलो हुन्छ ।


प्रतिक्रिया दिनुहोस्