चल्लाको मूल्य ३६ प्रतिशतले बढ्यो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । उत्पादन घटेसँगै कुखुराका चल्लाको मूल्य ३६ प्रतिशतले बढेको छ ।

प्यारेन्ट चल्ला (माउ कुखुराका चल्ला) को अभावका कारण चल्ला उत्पादन घट्न पुगेको खबर आर्थिक अभियान दैनिकमा छ ।

लामो समयसम्म भएको बन्दाबन्दीका कारण ह्याचरी व्यवसायीले प्यारेन्ट चल्ला आयात गर्न नसक्दा अभाव भएको बताइएको छ ।

ह्याचरी उद्योग संघले दिएको जानकारी अनुसार करीब १ महीना अघिसम्म प्रतिचल्ला ७० रुपैयाँ पर्ने ब्रोइलर चल्लाको मूल्यमा करीब ३६ प्रतिशतले वृद्धि हुँदै आजभोलि ९५ रुपैयाँसम्म पर्न थालेको छ ।

त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेयर्स चल्लाको मूल्यमा पनि २२ प्रतिशतले वृद्धि हुँदै १ सय ७० रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष टीकाराम पोखरेलले नेपालमा प्रतिहप्ता ४२ देखि ४५ लाख चल्लाको माग भए पनि प्यारेन्टको अभावका कारण यतिबेला प्रतिहप्ता २८ लाख चल्लाको मात्र उत्पादन भइरहेको बताए ।

बजारमा चल्लाको माग अत्यधिक भए पनि उत्पादन गर्न नसकिएकाले माग पूरा गर्न निकै गाह्रो भएको उनले जानकारी दिए । ‘बन्दाबन्दीका समयमा चल्ला विक्री नहुँदा गाड्नुपर्ने स्थिति आयो अब अहिले माग धान्नै गाह्रो छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्