का‌ंग्रेसको नाराबाजी पछि प्रतिनिधि सभा बैठक अवरुद्ध

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी पछि संघीय संसदको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकका लागि निर्धारित कार्यसूचमा समावेश भएअनुसार सभामुख अग्निप्रसाद सापकोटाले सरकारले जारी गरेका अध्यादेशहरु संसद बैठकमा पेस गर्ने प्रक्रिया अगाडि बढाएपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।

कांग्रेस सांसदले उठेर विरोध जनाएपछि सभामुख सापकोटाले पुष्पा भुसाललाई बोल्नका लागि समय दिए । कांग्रेस सांसद भुसालले संविधानको भावना विपरित ल्याइएका अध्यादेशहरु संसदमा पेस गर्न नहुने बताइन् ।

त्यसपछि पनि सभामुख सापकोटाले कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक परिषद (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधनन) अध्यादेश २०७७ पेस गर्न अनुमति दिए ।

कांग्रेस सांसदले फेरि उठेर विरोध जनाए । सभामुखले कांग्रेस सांसद बालकृष्ण खाँडलाई बोल्नका लागि समय दिए । खाँडले सरकारले अध्यादेश फिर्ता लैजानुपर्ने र आफूहरुले अध्यादेश पेस हुन नदिने अडान राखे ।

सभामुखले फेरि अध्यादेश पेस गर्ने अनुमति दिन खोजेपछि कांग्रेस सांसदहरुले उठेर रोस्टम नै घेराउ गर्दै नाराबाजी गरे ।

कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्