सर्वोच्चको फैसलाले एमाले र माओवादी ब्यूँतिए भन्न मिल्दैन- देब गुरुङ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका नेता देब गुरुङले ‘नेकपा’ नामका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलालाई ‘बेठीक टाइमको न्याय’ भनेका छन् ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रतिक्रिया दिँदै नेता गुरुङले ‘बेठिक टाइम’मा न्याय दिने काम भएको बताए ।

अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने पनि बताए । फैसलासँगै पुर्व नेकपा एमाले र पुर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भनेर भन्न नमिल्ने गुरुङले तर्क गरे ।

पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे ।

‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिस्ट पार्टी नेकपा को निर्वाचन आयोगमा परिरहेको वहसको सम्बन्धमा केही न केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाही उपयुक्त समय हो भन्ने देखिँदैन,’ गुरुङले भने, ‘न्याय इनटाइममा दिनुपपर्थ्यो । बेठीक समयमा न्याय दिने काम भयो ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा सर्वोच्च अदालतले आइतबार फैसला सुनाउँदै निर्वाचन आयोगको निणर्य बदर गरिदिएको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि निर्वाचन आयोगले एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (ने क पा)’ राखेर दर्ता गरेको थियो ।

आयोगको उक्त निणर्यविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

आफ्नो नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टी पहिले नै दर्ता भएको र निर्वाचन आयोगले आफ्नो पार्टीको नामसँग मिल्ने नाम अर्कोलाई दिएकाले आयोगको उक्त निणर्य बदर गरीपाउँ भन्दै कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलगत राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने पनि ठहर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्