प्रदेश-१ का संसदीय दलका उपनेता आङबोहाङले छोडे प्रचण्ड माधव समूह

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


विराटनगर । प्रदेश-१ नेकपा संसदीय दल प्रदेश १ का उपनेता टंक आङबोहाङले नेकपाको प्रचण्ड-माधव समूहमा आफू नरहेको बताएका छन् ।

उनी उक्त समूहको केन्द्रीय सदस्यसमेत हुन् । ‘प्रचण्ड-माधव समूहसँग मेरो असहमती छ,’आफ्नो पार्टीको सरकार हटाएर देउवालाई प्रधानमन्त्री बनाउनेकुरा ठिक होइन ।’

उनी नेकपा ओली समूहमा खुलेको स्रोतको दावी छ
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अढाइ महिनाअघि अविश्‍वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेलेका थिए ।

उनकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

त्यसको केही समयपछि भने उपनेता आङबोहाङ दाहाल–नेपाल समूहका सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए ।
ताप्लेजुङबाट प्रदेश सभामा निर्वाचित आङबोहाङ तत्कालीन माओवादीका नेता हुन् ।

दुई दिनअघि ताप्लेजुङको दोभानमा भएको आगलागीमा राहत वितरण गर्न मुख्यमन्त्री राईसँगै सेनाको हेलिकप्टरमा उनी गएका थिए ।

अहिलेपनि पार्टी एक हुनु पर्छ भन्‍ने कुरामा आफू अडिक रहेको आङबोहाङले बताए ।

गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्‍वासको प्रस्तावमा नेकपाका ६७ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए ।

प्रस्तावमा हस्ताक्षर गर्ने मध्ये आङबोहाङसहित ६ दाहाल-नेपाल समूह छोडेर ओली समूहतिर लागेका छन् ।

अविश्‍वासको प्रस्ताव दर्ता गन अघि राजीनामा गरेकी सामाजिक विकासराज्यमन्त्री जसमाया गजमेरले केही दिनपछि हस्ताक्षर फिर्ता लिदै ओली समूहमै फर्किएकी थिइन् ।

उनीसँगै हस्ताक्षर गर्ने मध्येका झापाका श्रीप्रसाद मौनाली र गोपाल बुढाथोकी, उदयपुरकी कला घले, खोटाङकी उषाकला राई र मोरङकी बसन्तीदेवी यादव पनि दाहाल-नेपाल समूह छोडेर ओली समूहतिर आएका छन् ।

गणीतीय रूपमा प्रदेश सरकार ढाल्न वा जोगाउन ४७ जना संसाद आवश्यक पर्छ । नेकपाका दुवै समूहले त्यो संख्या पुर्‍याउन सक्ने अवस्था छैन् । यो प्रदेशमा कांग्रेसको सहयोग दुवै समूहलाई आवश्यक पर्छ ।


प्रतिक्रिया दिनुहोस्