मुस्कान खातुनलाई देउवाले दिए बधाई

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेजाव आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जित्न सफल भएकाेमा बधाई दिएका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत  मुस्कानलाई बधाई दिएका हुन् ।

मुस्कानले देखाएको शाहस र एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ठूलो योगदान प्रदान गरेको देउवाको बधाई सन्देशमा उल्लेख छ ।

१५ वर्षीया खातुनले अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जितेकी हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्