जनताको समृद्धिको चाहना रोक्न गरिएका षड्यन्त्र परास्त हुन्छन् : राज्यमन्त्री मानन्धर

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको समृद्धिको सपना पुरा गरेरै छाडिने बताएका छन् ।

शुक्रबार काठमाडौंको शितला माध्यमिक विद्यालयमा आइटी ल्याब र स्मार्ट बोर्डको सुरुवात गर्दै मन्त्री मानन्धरले जनताको समृद्धिको सपना पूरा हुन नदिन रचिएका सबै षड्यन्त्र समाप्त पारेर अघि बढ्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका कारण समृद्ध नेपाल सुखी नेपालीको अभियान अघि बढेको बताउँदै मन्त्री मानन्धरले देशभक्त र जनप्रिय सरकारविरुद्ध देशी विदेशी शक्तिले षड्यन्त्रपुर्ण ढंगले चलखेल गरिरहेको दाबी गरे ।

मन्त्री मानन्धरले जनताको चाहनाअनुसार गठन भएको वर्तमान सरकारलाई असफल पार्न रचिएका सबै षड्यन्त्रलाई जनताले नै परास्त गरिदिने दाबी गरे ।

नेकपाको आधिकारिकता विवाद केही दिनमै टुंगिने बताउँदै मन्त्री मानन्धरले संसदीय दलमा प्रधानमन्त्री सुविधाजनक बहुमतमा रहेको दाबी पनि गरे ।

सर्वोच्चको आदेश पालना गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बोलाएको बताउँदै मन्त्री मानन्धरले अबको दुई वर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार रहने दाबी गरे ।

कार्यक्रममा मन्त्री मानन्धरको स्थानीय विकास पूर्वाधार कार्यक्रम र सुचना तथा प्रविधि मन्त्रालयको संयुक्त लगानीमा निर्मित कम्युटर ल्याब र स्मार्ट बोर्डको शुभारम्भ गरिएको छ । सरकारी विद्यालयको स्तर उन्नती र प्रविधि मैत्री बनाउन सरकार लागिपरेको पनि मन्त्री मानन्धरले दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्