चोरिएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ६ : ०९


महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो।

सुराकी तथा विशेष सूचना सङ्कलन गरी टोली परिचालन गर्दा उक्त सफलता मिलेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए।

महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुरका विभिन्न स्थानबाट ति मोटरसाइकल बरामद गरिएको थियो।

लामो समयसम्म पार्किङ, एकान्त र अध्याँरो स्थानमा पार्किङ गर्दा र अतिरिक्त लक तथा साइरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने भएकाले विशेष सावधानी अपनाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ।

महाशाखाले सवारी पार्किङ गर्दा विशेष ध्यान दिन र अतिरिक्त सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।

चालू आर्थिक वर्षमा मात्रै हराएका २७९ मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखाले जनाएको छ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा अनलाइनमा निवेदन दिन प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले अनुरोध गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्