गुल्मीमा बेपत्ता ‘बुहारी’ खोज्न दौडने छिमेकी नै हत्यामा संलग्न

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ३ : ५२


गुल्मी । गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो ।

लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । हत्याको कारणबारे प्रहरीले खुलाएको छैन ।

सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो ।

लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोल तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए ।

सम्झनाका छिमेकीसमेत रहेका उनै लालबहादुर खत्रीले विहान रुखको घाँस लिन गएको बेला गन्हाएपछि शंका लागेर जनप्रनिधिलिाई फोन गरेका थिए ।

के भएको थियो घटना ?

माघ १८ गते सम्झनाका सासूले जेठाजू बुहारी कोठामा बसेको र त्यसलगत्तै जेठाजुसँग बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् । सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् ।

३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो नभएको जनाइएको छ । सम्झनाले श्रीमानले प्रायः कुटपिट गरिरहने बताउने गरेकी थिइन् ।

१९ गते साँझ ५ बजेतिर उनी सासुले घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । त्यसपछि उनी बेपत्ता भएकी थिइन् ।
उनका १६ महिनाका छोरा छन् ।

सम्झना हराएको दुई दिन पछि उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्