भोलिको कार्यक्रममा विप्लव नेकपाका सबै शीर्षस्थ नेता उपस्थित हुने

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : ०७


काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि बिहिबार दिउसो २ बजे राष्ट्रियसभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षबीच भएको सहमतिबारे जानकारी दिन समारोह आयोजना गरिएको हो। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन्।

आज भएको सहमति पश्चात सरकारले विप्लव नेतृत्वको नेकपाका जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ता छोड्ने प्रकृया सुरु गरेको छ।

विप्लव सार्वजनिक हुनेक्रममा सबै शिर्ष नेता रिहा गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

प्रतिबन्धपछि नेकपाका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला, केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’,ओमप्रकाश पुन, भरत बम लगायतका नेता जेल तथा हिरासतमा छन् ।

आज तीन बुँदे सहमतिसँगै नेताहरु छोड्नका लागि गृहकार्य सुरु भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भोली सार्वजनिक कार्यक्रममा सबै शिर्ष नेता मञ्चमा राख्ने तयारी छ ।

नेकपाका जेलमा भएको शिर्ष ५ मध्य सुदर्शन र बास्तोला हिरासतमा छन्। प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,“ रिहाइको प्रकृया त सुरु भइसक्यो, केही मिलाउन बाँकी छ।”

महासचिव विप्लव पछिल्लो २ बर्ष यता सार्वजनिक कार्यक्रममा देखिएका छैनन।


प्रतिक्रिया दिनुहोस्