आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड–माधव समूह

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १ : ४०


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह पार्टी आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जान लागेको छ ।

हिजो बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले आयोगले आधिकारिकता दिन ढिलाइ गरेको प्रति आपत्ति जनाएसँगै प्रचण्ड नेपाल लगायतका नेता आज आयोग जान लागेका हुन् ।

दिउँसो दुई बजे अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित केन्द्रीय नेताहरु आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जान लागेका हुन् ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा आधिकारिकता दाबी गर्न केन्द्रीय सदस्यको नागरिकतासहित हस्ताक्षर संकलन गरिएको थियो ।

पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ।

त्यसका लागि प्रचण्ड–नेपाल समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको हिजो बसेको बैठकले आधिकारिकताबारे निर्णय दिन ढिला गरेकोमा निर्वाचन आयोगप्रति खेद व्यक्त गरेको थियो ।

बैठकपछि नेकपा नेता भीम रावलले भनेका थिए – ‘तत्काल राज्यको कानुन, नेकपाको अन्तरिम विधान २०७५, लोकतान्त्रिक प्रणाली र मान्यता अनुरुप निष्पक्ष एवम् न्याय संगत निर्णय गर्न निर्वाचन आयोग समक्ष हाम्रो बैठकले पुन जोडदार माग गरेको छ। लोकतन्त्रको स्वच्छ विकास र सुदृढिकरणको लागि निर्वाचन आयोगको निष्पक्ष एवम् कानुनसंगत भुमिका महत्वपूर्ण रहेको कुरा हामिले मानेका छौँ। त्यो तथ्यलाई मनन गर्नुका साथसाथै ढिला न्याय दिनु भनेको अन्तत् न्याय नदिनु सरह हो भन्ने कुरालाई समेत सम्बन्धित निकायले ध्यान दिनुपर्छ भन्ने कुराको पनि बैठकले स्मरण गराएको छ।’

आयोग जानेभएपछि उक्त समूहले राजधानीमा उपलव्ध केन्द्रीय कमिटी सदस्यलाई पेरिसडाँडा बोलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्