प्रचण्ड-माधव नेपाल समूहमै रहेको दुई सांसदको प्रष्टिकरण

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । मुगुका सांसद गोपाल वमले आफू नेकपाको प्रचण्ड–माधव समूहमा नै रहेको स्पष्टीकरण दिएका छन्।

उनले विज्ञप्ति जारी गरी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको बताएका छन्।

उनले आफूले वर्तमान सरकारको पक्षमा नलागेको र संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

बमले ओली समूह अल्पमतमा परेपछि दुष्प्रचारमा लागेको बताए । उनले भनेका छन्, ‘अल्पमतमा परेको ओली समूहले पार्टीको विधान विपरित गरेको अनर्गल प्रचारको खण्डन र भर्त्सना गर्दछु ।’

केही दिनअघि ओली समूहले संसदीय दलमा प्रधानमन्त्रीको पक्षमा बहुमत पुगिसकेको दावी गर्दै ८७ जना सांसदको नामावली सार्वजनिक गरेको थियो । जसको ८६ औं नम्बरमा बमको नाम छ । बमले भने उक्त नामावलीलाई हावादारी भनेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधान विपरित अल्पमत पक्षका तथाकथित नेताहरु,केही हावादारी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुले मेरो नामसमेत जोडेर वर्तमान प्रतिगामी सरकारको पक्षमा लागेको भनी गरिएको अनर्गल प्रचारप्रति आपत्ति प्रकट गर्दै त्यसको खण्डन एवम् भर्त्सना गर्दछु’, उनले भनेका छन्।

यस्तै, सांसद गंगा चौधरीले पनि आफू ओलीमा नरहेको स्पष्टिकरण दिएकी छन।

दुवै सांसद्ले ओली पक्षमा रहेको भनेर आएको समाचारको खण्डन गर्दै आपत्ती जनाएका छन।

अदालतले फैसला सुनाएको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्न आदेश गरेपछि २३ गते संसद्को अधिवेशन बोलाइएको छ।

संसद बैठकमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने आंकलन गरेको ओली समूह संसद र संसदीय दलमा बहुमत जुटाउने प्रयासमा छ।

ओली समूहले आफूतिर खुल्ने सांसदलाई मन्त्री या पाँच करोड रोजेर लिन अफर गरेको समाचार यसअघि नै सार्वजनिक भैसकेको छ।

तानातानको राजनीति चलिरहेका बेला दुवै सांसदले आफूहरु मूल पार्टीमै रहेको प्रष्ट पारेका हुन् ।


प्रतिक्रिया दिनुहोस्