विप्लव समूह र सरकारबीच दोस्रो वार्ता सुरु

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : ३७


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बालुवाटारमा फेरि वार्ता सुरु भएको छ।

यसअघि आजै बिहान सरकारी वार्ता टोली र विद्रोही पक्षको वार्ताटोली बीच पहिलो चरणको छलफल भएको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको वार्तामा विप्लव समूहका तर्फबाट प्राथमिकताका साथ कारागारमा रहेका आफ्ना नेता तथा कार्यकर्ता रिहाको सर्त अघि सारिएको थियो।

वार्तामा विप्लवले आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि मात्रै बाँकी विषयमा सरकारसँग वार्ता गर्ने अडान लिएको थियो। सो कुरा सम्बोधन गर्न सरकार तयार भएको बताइएको छ।

अपराधिक गतिविधिमा संलग्न भएको भन्दै करिब दुई वर्षदेखि प्रतिबन्धित नेकपाका थुप्रै नेता तथा कार्यकर्ता हिरासतमा छन्। तर वार्ताको क्रममा रिहा कहिले र कसरी गर्ने भन्नेबारे भने सरकारले अहिलेसम्म स्पष्ट नपारेको र त्यसबारे दोस्रो वार्तामा छलफल भएर सहमति हुने स्रोतले जानकारी दियो।

आज बिहानको वार्ताबारे प्रतिक्रिया दिँदै गृहमन्त्री रामबहादुर थापाले छलफल सकरात्मक दिशातर्फ अगाडि बढेको र सहमति नजिक पुगेको बताएका छन्।

सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाए लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई छन्।

सरकारले आजै साँझसम्ममा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्