भोली देशभरका सबै अदालतमा बिदा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । भोलि (बिहिबार) देशभरका सबै अदालत बन्द हुने भएका छन्।

सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा दिइएको छ।

सर्वोच्चका सह-प्रवक्ता देवेन्द्र ढकालले आज एक शोक वक्तव्य जारी गर्दै सिंहको निधनले न्याय क्षेत्रलाई अपुरणीय क्षेति पुगेको बताएका छन्।

वक्तव्यमा सिंहले स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न साथै न्याय र कानून क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्याएको पनि बताइएको छ। ‘उहाँको निधनले राष्ट्रले एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ। दुस्खको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ’, वक्तव्यमा भनिएको छ।

सिंहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न एवम् न्याय र कानूनको क्षेत्रको विकासका लागि पुर्याएको योगदानको सर्वोच्चले प्रशंसा गरेको छ। ‘संविधान र कानूनको क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल,अत्यन्त मिलनसार, विवेकशील, सहृदयी, मृदुभाषी, न्यायका मर्मज्ञ एवम् अनुभवी न्यायिक व्यक्तित्वका रुपमा रहनुभएका स्वर्गीय सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो’, वक्तव्यमा भनिएको छ, ‘उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादायी र मार्गदर्शक रहिरहने छ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘बिहीबार एकदिन नेपालभरका सर्वोच्च अदालत,उच्च अदालत,जिल्ला अदालत,विशेष अदालत,एवम् अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने भनी आज बसेको अदालतको पूर्ण बैठकले निर्णय गरेको जानकारी गराइन्छ’।

९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो।

सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए।

निर्भिक न्यायाधीशको रुपमा परिचित सिंहले आफ्नो समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए।


प्रतिक्रिया दिनुहोस्