गोंगबु हत्या प्रकरण : कल्पना मुडभरीलाई जीवित रहुन्जेलसम्म जेलमा बस्नुपर्ने फैसला

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ३२


काठमाडौं । गोंगबु हत्या प्रकरणकी दोषी कल्पना कुडभरीलाई आजिवन जेल सजायको फैसला सुनाइएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको हो।

निर्मम तरिकाले कृष्णबहादुर बोहोराको हत्या गरेको भन्दै उनलाई जीवित रहुन्जेल जेलमा बस्नुपर्ने फैसला अदालतले सुनाएको हो। त्यस्तै उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सफाई दिएको छ। छोरीको संलग्नता पुष्टि हुन नसकेको अदालतको भनाइ छ।

साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

मुडभरी विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा (१) बमोजिमको कसूरमा सोही संहिताको दफा १७७ को उपदफा (२) बमोजिम जन्म कैदको सजाय मागदाबी गर्दै मुद्दा दायर भएको थियो।

कल्पनाले दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको गत साउनमा निर्मम ढंगले हत्या गरेकी थिइन्।

कल्पनाले दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हतौडाले हानेर हत्या गरेकी थिइन्। त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन्।

बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो।

पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले बोहराको हत्या गरी चितवन पुगेको अवस्थामा कल्पना र उनकी एक छोरीलाई पक्राउ गरेको थियो ।

आफू र छोरीमाथि यौन दूर्व्यवहार गरेपछि हत्या गरेको कल्पानाको दाबी बयान थियो।

सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकी कल्पनाबारे बुधबार जिल्ला अदालत काठमाडौँले अन्तिम फैसला सुनाएको हो।

 


प्रतिक्रिया दिनुहोस्