प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँग झुकेको कांग्रेसको आरोप

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ४७


भारत । भारतीय विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले नरेन्द्र मोदी सरकारले काराकोरम पास नजिकको रणनीतिक विन्दुका रूपमा रहेको देप्साङ चीनलाई सुम्पेको आरोप लगाएका छन् ।

गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँग झुकेको भन्दै आलोचना गरेका हुन् ।

चिनियाँ जनमुक्ति सेनाले उक्त क्षेत्रमा उपस्थिति बढाएको विषयमा लेखिएको एक आलेखको लिंक ट्विटरमा शेयर गर्दै राहुलले मोदी सरकार चीनसमक्ष झुकेको भन्दै आलोचना गरेका छन् ।

चीनले परम्परागत तथा साइबर बलहरू परिचालन गरेर भारतलाई धम्क्यायो अनि भारत सरकार झुक्यो । मेरो कुरालाई ध्यान दिनुस्, देप्साङमा हामीले भूमि गुमायौं । दौलड बेग् ओल्डी जोखिमको स्थितिमा छ । भारत सरकारको कायरताले भविष्यमा त्रासद परिणाम ल्याउनेछ,’ उनले लेखेका छन् ।

देप्साङ भारतको दौलत बेग ओल्डी हवाईपट्टी नजिक रहेको छ ।

त्यो सबै मौसममा उपयोग गर्न मिल्ने अनि भारत, पाकिस्तान र चीनको नियन्त्रणमा रहेको भूभागको त्रिकोणीय विन्दु हो ।

हालै सिन्थेटिक एपर्चर राडारका तस्वीरहरूमा चिनियाँ पोस्ट देखिन्छ । वास्तविक नियन्त्रण रेखा नजिक चिनियाँ सेनाको उपस्थिति बाक्लिएको देखिएको छ । पछिल्लो तस्वीरमा थप संरचनाहरू, शिविरहरू, वाहनहरू र तारबारहरू बनाइएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्