सोनु सुदले गरे नेपाली फ्यानको उपचारमा सहयोग

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


भारतीय सिने उद्योग बलिउडमा ‘भिलेन चरित्र’का रुपमा पहिचान बनाएका सोनु सुद पछिल्लो समय आफ्नो सामाज सेवाले गरिब र दु:खीका ‘हिरो’को रुपमा चिनिन थालेका छन् ।

कोरोनाका कारण लगाइएको लकडाउनका बेला सुदले थुप्रै प्रवासी मजदुरलाई उनीहरुको घरसम्म पुर्‍याउनका लागि काम गरे । लकडाउनका बेला सोनुको यस्तो सामाजिक कार्यले खुबै तारिफ भयो ।

लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किएपछि पनि सोनुले आफ्नो सामाजिक कामलाई जारी राखेका छन् । पछिल्लो समय उनले आर्थिक अभावका कारण उपचार गर्न नसकेका, घर बनाउन नसकेका, अध्ययन गर्न नसकेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहयोग गरिरहेका छन् ।

यसबीच उनले आफ्ना एक नेपाली प्रशंसक (फ्यान)को पनि स्वास्थ्य उपचारमा सहयोग गरेका छन् ।

फ्रेवुअरी १३ तारिखमा मधु पौडेल नाम गरेका एक नेपालीले सोनुसँग सहयोग मागेका थिए । ट्विटरमार्फत मधुले आफू १० बर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै उपचारमा आर्थिक सहयोगका लागि सोनुसँग अपिल गरेका थिए ।

मधुले लठ्ठी टेकेर हिँडिरहेको भिडियो पोस्ट गर्दै लेखेका थिए, ‘म विगत १० वर्षदेखि डाड दुख्ने समस्याबाट ग्रसित छु । मैले १० कक्षामै विद्यालय पनि छाड्नु पर्‍यो । एम्सका चिकित्सकले मलाई शल्यक्रिया गर्नुपर्छ भनेका छन् । तर, म ‘एफोर्ड’ गर्न सक्दिनँ । कृपया, के तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ ?’

सोनुले मंगलबार ट्विटरमा मधुलाई जवाफ फर्काएका छन् । मधुलाई लेखेका छन्–‘अतिथी देवो भवः । भारतबाट आफ्नो देश नेपाल विना लठ्ठी दगुर्दै पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्