राखी सावन्तविरुद्ध लाखौं रुपैयाँ हिनामिनाको आरोप

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ३३


मुम्बई । भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्त बेला बेला चर्चा र विवादमा आउने गरेकी छिन् । पछिल्लो पटक भने उनी गम्भीर खालको विवादका कारण चर्चामा छिन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीविरुद्ध लाखौं रुपैयाँ हिनामिनाको आरोपमा प्रहरीमा आरोपपत्र दर्ता भएको छ ।

एनबीटीका अनुसार दिल्लीस्थित एक बैंकका अवकाश प्राप्त कर्मचारीले राखी र उनका भाई राकेशविरुद्ध लाखौं रुपैंयाँ हिनामिनाको आरोप लगाउदै एफआइआर दर्ता गराएका छन् । ती व्यक्तिले राखी र उनका भाईले आफूसँग फिल्म बनाउन भन्दै ६ लाख रुपैंयाँ लिएर भागेको आरोप लगाएका छन् ।

राखीका भाइ राकेशले सन् २०१७ मा शैलेश श्रीवास्तव नामका एक अवकाश प्राप्त कर्मचारीसँग व्यापार गर्न भनी पैसा मागेका थिए ।

शैलेश र राकेशलाई राज खत्री नामका एक व्यक्तिले भेट गराएका थिए । राकेश र शैलेशले मिलेर एक फिल्म निर्माणको योजना बनाएका थिए ।

फिल्मको कथा बाबा गुरमीत राम रहिमको जिन्दगीमा आधारित थियो । यो फिल्मसँगै उनीहरु एक सर्ट फिल्म बनाउने योजना पनि थिए ।

शैलेशले दिएको उजुरीमा राखीका भाईले एक डान्स स्कुल खोल्ने पनि कुरा गरेको उल्लेख गरिएको छ । उनले आफू दिदी राखीलाई पनि लिएर स्कुलमा आउने भन्दै आफूबाट ६ लाख रुपैंयाँ लिएको उल्लेख गरेका छन् ।

शैलेशले राखी, राकेश र राजमाथि सम्झौतामा गलत हस्ताक्षर गरेको आरोप पनि लगाएका छन् । शैलेशले आफूले राखीलाई कैयौं पटक फोन गरे पनि उनले फोन नउठाएको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्