ताप्लेजुङ आगलागी– गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गए योगेश भट्टराई

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : २५


काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।

ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए ।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नीपीडतको दिर्घकालिन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा आगलागीका कारण आवासविहिन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागी बाट हुने जोखिम र क्षति न्युनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितको लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्दारको काम शुरु भइसकेको जानकारी दिए । मंगलबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र बुधवार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने उनले बताए । आवासको निम्ति भूकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

तत्कालीन राहतको रुपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाको दरले पठाइसकिएको जानकारी दिदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैया उपलब्ध गराउने आश्वासन दिए ।


प्रतिक्रिया दिनुहोस्