घर बनाएको उधारो तिर्न ‘आफ्नै’ सहकारीबाट १८ लाख चोरी

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । गत माघ २६ गते आइतबार । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी संस्थामा बिहान कर्मचारी पुग्दा ढोका खुल्लै थियो ।

कार्यालयको मुख्य ढोका नै खुला भएपछि कर्मचारीले बिहान पहिलोचोटी पुगेका कर्मचारीले सञ्चालकलाई खबर गरे । सञ्चालकसहित अन्य कर्मचारी पनि पुगेपछि लुटपाट पो भएको को कि ? भनेर सेफ (पैसा राख्ने) ठाउँमा खोलेर हेरे ।

सेफमा अघिल्लो दिन (माघ २५ गते) झन्डै १८ लाख रुपैयाँ राखिएको थियो । तर, बिहान खोलेर हेर्दा त्यहाँ राखिएको नगद भेटिएन । बैंकका सञ्चालकले तत्काल प्रहरीलाई खबर गरे ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान शुरु गर्‍यो ।

लुटपाटका घटनामा सामान्यतः प्रहरीले सर्भिलियन्स (सीसीटीभी) क्यामेराको मद्दतबाट अनुसन्धान शुरु गर्छ । तर, न त त्यो सहकारीमा सीसीटीभी क्यामेरा थियो, न त सहकारी भएको सडक र गल्लीमा नै ।

प्रारम्भिक अनुसन्धानका क्रममा माघ २५ गते साँझ लुटपाट भएको कुरा पत्ता लाग्यो । प्रहरीले माघ २५ गते साँझ अगाडिदेखि नै सहकारीका कर्मचारीको गतिविधिबारे पनि अनुसन्धान गर्‍यो ।

सहकारीमा कार्यरत कर्मचारीमध्ये लेखापाल सावित्री सुवेदीको ‘मोटिभ’ देखियो । किनभने सहकारीमा लुटपाट भएकै दिन साँझ ५ बज्न लाग्दा मात्रै उनका श्रीमान् कपिल खड्काले सहकारीमा आएर आफ्नो १० लाख रुपैयाँ ऋण बुझाएका थिए । साँझ मात्रै ऋण भुक्तानी भएकाले उक्त पैसा बैंक लगेर राख्न नपाइएकाले सहकारीकै सेफमा राखिएको थियो ।

ओखलढुङ्गाको सिंहदेवी स्थायी घर भएका सावित्री दम्पत्ति चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा घर बनाउँदै छन् । श्रीमती सावित्री सहकारीकी कर्मचारी भएकाले कपिलले घर बनाउनका लागि सोही सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएका थिए । सावित्रीका श्रीमान् कपिलले दिउँसो १ बजेतिर नै एनआइसी एसिया बैंकबाट १० लाख रुपैयाँ झिकेका थिए । तर, साँझ ५ बज्न लाग्दा मात्रै सहकारीमा आएर बुझाए ।

माघ २५ गते बजारबाट ७ लाख ८५ हजार रुपैयाँ पनि संकलन भएको थियो । लेखापाल सावित्रीकै जोडमा सो दिन कूल १७ लाख ८५ हजार रुपैयाँ सहकारीको सेफमा राखिएको थियो ।

अनुसन्धानकै क्रममा एउटा सीसीटीभी फुटेजले पनि लुटपाटमा सावित्रीको संलग्नता रहेको तथ्यलाई थप पुष्टि गर्‍यो । सहकारीको कार्यालय र कार्यालय रहेको गल्लीमा सीसीटीभी क्यामेर नरहे पनि गल्लीको मूल सडकमा भने सीसी क्यामेरा थियो । अनुसन्धानका क्रममा प्रहरीले उक्त सीसी क्यामेराको फुटेज समेत केलायो ।

सहकारी लुटिएको दिन (माघ २५ गते) गते ५ बजेतिर कार्यालयबाट निस्किएकी सावित्री फर्किर पुनः सहकारीको कार्यालयतर्फ गएको सीसीटीभी फुटेजमा देखियो । प्रहरीले त्यसपछि उनलाई नियन्त्रणमा लियो ।

बयानका क्रममा सावित्रीले आफू शौचालय प्रयोग गर्न कार्यालय फर्किएको बताइन् । तर, साँझ पुनः सहकारीको कार्यालय जाँदा र त्यहाँबाट फर्किदा उनले बोकेको झोलाको अवस्था भने फरक देखियो । त्यसमा केही बोकेको देखिए पछि लुटपाटमा सावित्रीको संलग्नता छ भन्ने तथ्यमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको थियो ।

प्रहरीले सावित्रीसँगै उनको श्रीमान् कपिल खड्काका बैंकिङ्ग कारोबार र आर्थिक लेनदेनबारे पनि अनुसन्धान गरिरहेको थियो । भुपू आर्मी समेत रहेका सावित्रीका श्रीमान् कपिलले घर निर्माण क्रममा एउटा हार्टवेयरबाट ४ लाख ५० रुपैयाँ तिर्न बाँकी (उधारो) राखेर सामान लिएका थिए ।

कपिलले हार्डवेयरलाई ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए । तर, चेक साटिएको थिएन । त्यसपछि प्रहरीले उक्त हार्डवेयरका सञ्चालकसम्म समेत पुगेर भुक्तानी भएनभएको विषयमा सोधखोज गर्‍यो ।

सोधखोजका क्रममा हार्डवेयरका सञ्चालकले कपिलबाट आफूले ४ लाख ४० रुपैयाँ नगद भुक्तानी पाएको र केही दिन चलाउनका लागि भनेर थप ५ लाख रुपैयाँ समेत राख्न दिएको भनेर प्रहरी टोलीलाई जानकारी दिए ।

त्यसपछि प्रहरीले सावित्रीका श्रीमान् कपिललाई समेत पक्राउ गर्‍यो । सावित्रीका दम्पत्तिले हार्डवेयरलाई दिएको पैसाको स्रोत खुलाउन सकेनन् । अन्ततः सावित्रीले नक्कली साँचो प्रयोग गरेर सहकारीको सेफबाट पैसा झिकेको (चोरेको) स्वीकारेकी छन् ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सावित्रीले घर बनाउँदा सामान लिएको हार्डवेयरको उधारो नतिरे ‘चेक बाउन्स’को मुद्दा लाग्ने डरले सहकारीबाट पैसा झिकेर (चोरेर) बुझाएको बयानमा बताएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसारसावित्रा र उनका श्रीमान कपिलले पहिलेदेखि नै लुटपाट गर्ने योजना बनाएको देखिएको छ ।

सहकारीका अध्यक्षलाई कोरोना भाइरसको संक्रमण भएपछि सेफको साँचो सावित्रीको जिम्मामा थियो । त्यतिबेला नै उनले भक्तपुरमा गएर सेफको नक्कली साँचो बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले सावित्रीसहित उनका श्रीमान कपिलविरुद्ध चोरी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्