केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा बिहे भोज खान आएका युवकको मृत्यु

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


घोराही । केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा दाङमा १ युवकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको हो । युवकमाथि कुटपिट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले कुटपिटमा संलग्न ७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

फागुन १४ गते घोराही उपमहानगरपालिका–१० जलौरा निवासी वीरबहादुर चौधरीको छोराको बिहे भोज थियो ।  बेहुलाको साथीका रुपमा विवाहको निम्तो मान्दै भोज खान घोराही–१६ बस्ने २१ वर्षीय राजन चौधरी पनि पुगेका थिए ।

भोज चलिरहेको समयमै केटी जिस्क्याएको निहुँमा स्थानीय केही युवासँग राजनको विवाद भएको थियो । विवाद बढ्दै जाँदा स्थानीय युवाले राजनमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।

कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई उपचारका लागि तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरियो ।

बुटवल मेडिकल कलेजमा उपचारकै क्रममा फागुन १५ गते राजनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राजनको मृत्युपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै कुटपिटमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बेहुलाका पिता वीरबहादुरसहित कुटपिटमा संलग्न युवाहरुलाई पक्राउ गरिएको छ ।

वीरबहादुरले झगडा छुट्याउनुको साटो विवादलाई चर्काउँदै कुटपिट गर्न स्थानीय युवालाई हौस्याएको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

राजनको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय नारायणपुरबाट गएको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले वीरबहादुरका अतिरिक्त कुटपिटमा संलग्न स्थानीय युवा आकाश चौधरी, उमेश चौधरी, आशिष चौधरी, सन्दिप चौधरीसहितलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जनाविरुद्ध कर्तब्य गरी ज्यान मारेको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीसँगको बयानका क्रममा पक्राउ परेकाहरुले आरोप स्वीकारेका जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्