बैठकको तयारीबारे जानकारी लिन संसद भवन पुगे सभामुख

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवन नयाँ बानेश्वरको स्थलगत अवलोकन गरेका छन् ।

विघटनपछि पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकको तयारी सन्दर्भमा जानकारी लिन सभामुखले संसद भवनको निरीक्षण गरेका हुन् ।

स्थलगतका क्रममा सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक सञ्चालनका लागि भइरहेका तयारी लगायत विषयबारे जानकारी लिएका उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

बहुमतको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाउँदै १३ दिन भित्र बैठक बोलाउन समेत परमादेशको आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशानुसार मन्त्रिपरिषद बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते दिनको ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्