घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


चितवन । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो ।

माडी नगरपालिका–६ लक्ष्मीनिवासमा माडी भ्यू सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताए । घरमै पर्यटन व्यवसाय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उनले बताए ।

‘गाउँ सुनसान भयो । भएका मानिसहरु पनि शहर जान थाले । गाँउमा बस्नेले पनि झुप्रो बनाएर बस्न थाले । जग्गा बाँझो छ । यसलाई पनि सदुपयोग गरौँ भन्ने लाग्यो’, अधिकारीले भने ।

११ घरपरिवार मिलेर घरबास सञ्चालन गर्न शुरु गरे पनि अहिलेसम्म छ घरधुरीले मात्र घरबास निर्माण गर्न सफल भएका छन् । अरु घर निर्माण गर्ने क्रममा छन् ।

घरबास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले रु तीन लाख ५० हजार सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताए ।

घरबासमा रहेका पाँच घरमा १९ शय्या छन् । एउटा घर रु सातदेखि आठ लाखमा तयार भएको छ । दुई महिनाको अवधिमा ५०० पाहुनालाई स्वागत गरिसकिएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्टले जानकारी दिए ।

‘शान्त ठाउँ छ । शहरको कोलाहलबाट केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ । यहाँको संस्कृति बुझ्न र खानपानका परिकारमा रमाउन यहाँ आउन आग्रह गर्छौँ’, उनले भने ।

घरबासमा आउने पाहुनाका लागि घुमाउन पुष्पमदन स्मृति बाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्थामा छ ।

बाटिकामा रहेको दृष्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फुलबारी, कम्पाउण्ड निर्माण र खानेपानीको काम भइरहेको छ ।

स्मृति बाटिका निर्माणका लागि गत वर्ष वाग्मती प्रदेश सरकारले रु ७२ लाख बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि प्रदेश सरकारबाट रु ४० लाख र सङ्घीय सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ ।

पुष्पमदन स्मृति बाटिका जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको अस्तु विसर्जन गरेको ठाउँ हो ।

संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताए ।

‘हामीले यो काम गर्न ढिलो गरे जस्तो लाग्छ । घरबास थोरै भएको छ । थप्ने तयारीमा छौँ । विदेश गएर फर्किएकाहरु पनि घरबासमा आबद्ध भएका छन् । अन्यलाई पनि फर्कन आग्रह गरिरहेका छौं’, उनले भने ।

राज्यका निकायबाट सहयोग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको उनले बताए । घरबासमा आवासीय तालिम हलको अभाव रहेको दवाडीको भनाइ थियो ।

भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको तमुचोकबाट साढे दुई किलोमिटरको दूरीमा घरबास पुग्न सकिन्छ । घरबासको एउटा कोठाको रु ५०० लिइन्छ ।

एउटा कोठामा तीन वटा शैंया छन् । सादा खानाको रु एक सय ५० लिइन्छ । सादा खानामा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खानाको रु ३०० मूल्य तोकिएको छ ।

घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै पञ्चेबाजा बजाइन्छ । लोकसंस्कृति र भजनले मनोरञ्जन प्रदान गरिन्छ ।

पुराना संस्कृतिहरु लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको सल्लाहकार दवाडीले बताए । क्षत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोबास छ ।


प्रतिक्रिया दिनुहोस्