आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ । वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए ।

पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा वित्तीय संस्थाले तुरुन्त लगानी गर्न सक्ने गरी राखेको पैसा) आइतबार ७१ अर्ब रुपैयाँमा झरेको छ ।

तर, यसबीच राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि ८४ अर्ब रुपैयाँ पुनरकर्जा दिएको छ । पुनरकर्जा भनेको राष्ट्र बैंकले नयाँ पैसा छापेर बजारमा पठाउने जस्तै हो ।

पुसपछि बैंकहरूले नयाँ ऋण नदिएको र निक्षेप फिर्ता पनि नभएको भए अहिले वित्तीय प्रणालीमा ३ खर्ब रुपैयाँभन्दा ज्यादा अधिक तरलता हुन्थ्यो ।

‘पुनरकर्जालाई जोडेर हेर्दा पुसमा भएको २ खर्ब रुपैयाँ अधिक तरलता व्यवस्थापन भइसकेको देखिन्छ’, प्रवक्ता डा. भट्टले भने ।


प्रतिक्रिया दिनुहोस्