वामदेवको भ्रम अभियान, एकता र विरोधाभाष

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


– विजय शर्मा
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वामदेव गौतम र नारायणकाजी श्रेष्ठ दुबैले एक समय आफूलाई एकताका ‘सूत्रधार’का रुपमा प्रस्तुत गरिरहँदा आश्चर्य लाग्दथ्यो । तर दुई वर्ष पुग्दा नपुग्दै वामदेव गौतम विभाजन, विखण्डन र विवादको पो ‘सूत्रधार’ र पर्याय बनेर प्रस्तुत हुनुभयो । २०७५ मङ्सिरमा सम्पन्न स्थायी समितिको पहिलो बैठकबाट प्रधानमन्त्री र सरकारविरुद्ध प्रहारको फायर खोलेर लिखित ‘फरक मत’ वामदेव गौतमले नै राख्नुभएको थियो । त्यही जगमा उभिएर पछिका सबै विवाद, घेराबन्दी, भैंसीपाटी गठबन्धन निर्माण, पार्टी कब्जाको प्रयास र बिखण्डनका कार्यहरु अघि बढेका थिए र छन् ।

वामदेव गौतमको नेतृत्वमा केही समययता पार्टी एकता अभियानको नाममा अलग समूह बनेको छ । उहाँले त्यसको केन्द्रीय संयोजन समिति घोषणा मात्र गर्नुभएको छ । कहिले खुमलटार त कहिले बालुवाटार पुग्दै उहाँले आफूलाई ‘प्रधानमन्त्री’ र ‘कार्यकारी अध्यक्ष’ स्वीकार्न याचना गरिरहनु भएको पनि धेरै पटक नै देखिन्छ । आश्चर्य नै लाग्थ्यो – विभाजनको बिउ रोप्ने व्यक्तिले एकताको निम्ति अभियान भनेर यो के गरिरहनुभएको होला ? सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनका बारेमा परेका विभिन्न रिटहरुको बारेमा फैसला गरेलगत्तै एकता अभियानको नाममा भ्रम छर्दै वामदेव गौतमले हिजोसम्म केबल ‘जोखना’ राजनीति, बार्गेनिङ र अवसरवादको नांगो प्रदर्शन गर्दै आउनुभएको भ्रमबाजीको पनि पटाक्षेप भएको छ । उहाँले जारी गरेको वक्तव्यको यस अंशलाई मात्र हेरौं –

‘प्रधानमंत्री केपी ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ । आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दूराचारिताको पराजय तथा संविधान, क़ानुन, लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो ।’

उहाँले उहाँ प्रयोग गरेको …दूराचारिताको पराजय भनेको कुन राजनीतिक पदावली हो ? अनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर तत्काल राजीनामा दिनको लागि प्रचण्डको बोलीमा लोली मिलाउँदै सोही वक्तव्यमा उल्लेख गर्नुभएको माग पनि उहाँको पक्षधरता स्पष्ट गर्न काफी छ । यसरी उहाँले पुस ५ गते यता यतिन्जेल गरिरहेको भद्दा प्रहसनले विगतमा नेकपा (एमाले) विभाजन गर्दा प्रदर्शित विभिन्न कर्तुत, दृश्य र झलकहरुसमेत स्मरण भइरहेका छन् ।

जस्तो कि इतिहासमा अभिलेखबद्ध केही तथ्यहरुले यस्ता परिदृश्यहरु देखाउँछन् –

टनकपुर सन्धि विरूद्ध जननेता मदन भण्डारीको नेतृत्वमा भएको देशभक्तिपूणर् आन्दोलनले २०४६ सालपछि नेपाली समाजमा निकै भिन्न र सकारात्मक प्रभाव पारेको थियो । २०५१ सालमा पहिलोपटक सरकार गठन गरेपछि तत्कालीन परराष्ट्रमन्त्री माधवकुमार नेपालको पहलमा महाकाली एकीकृत विकास सन्धिको प्रस्ताव अघि सारियो । तदनुरूप नै पछि शेरबहादुर देउवा प्रधानमन्त्री, पशुपतिशमशेर राणा जलस्रोत मन्त्री र डा. प्रकाशचन्द्र लोहनी परराष्ट्रमन्त्री रहेका बखत विपक्षी दल नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाल र उपमहासचिव वामदेव गौतमसमेतको समर्थनमा महाकाली सन्धि सम्पन्न भयो । तर त्यसको अनुमोदन संविधानबमोजिम दुई तिहाई बहुमतले संसदबाट गर्नुपर्दथ्यो । त्यतिञ्जेल उपमहासचिव पद खारेज भएर पार्टी वरियतामा वामदेव गौतम तल झरिसकेको अवस्था थियो ।

अनि शुरू भयोे- राष्ट्रवादको नाममा वामदेवको हनुमान जम्प ! र, सन्धि अनुमोदन गर्दा उहाँले गर्ने कि नगर्ने केही सीमा कहीँ बाँकी राख्नुभएन । बिडम्बना ! जब उक्त सन्धिको कागजात आदान-प्रदानको बेला भयो, त्यतिबेला संयोगवश उहाँ उपप्रधानमन्त्री तथा गृहमन्त्री भइरहेको हुँदा उहाँको राष्ट्रवाद फेरि निदाउन पुग्यो र कागजात खुरूक्क र सहजै आदान-प्रदान गरियो । यसरी पार्टीको उच्च पद र सरकारमा हुँदा निदाउने, बाहिर हुँदा जाग्ने र झाँक्री- नाच नाच्ने वामदेवको ‘नक्कली राष्ट्रवाद’ पहिोपटक सक्कली स्वरुपमा उदांगो बन्यो ।

तर पछिल्लोपटक सुशील कोइरालाको नेतृत्वमा गृहमन्त्री हुँदा भारत र चीनले बेइजिङमा नेपाल-भारत र चीनबीचको विवादास्पद भूमि भएर ‘लिपुलेक पास’ खोल्ने द्वीपक्षीय सहमति गरे र त्यस क्रमममा नेपाललाई पूणर्तः बेवास्ता नै गरे । महाकाली सन्धि गर्दा सुतेको, अनुमोदन गर्दा जागेको र कागजात आदान-प्रदान गर्दा फेरि निदाएको उहाँको ‘नक्कली राष्ट्रवाद’ पुनः भुसुक्कै निदायो र भारत-चीनबीचको समझदारी थाहै पाएन वा थाहा नपाएजस्तो गरिरह्यो १ धन्य छ, स्वार्थी र नक्कली राष्ट्रवाद, जसको लीला यस्तो अपरम्पार नै छ १

पार्टी उपमहासचिवको हैसियत दुरूपयोग गरी आफ्ना छोरा हरिश र केशवलाल पुत्र बसन्तलाललाई सहिदका छोराछोरी पढ्ने कोटामा छात्रवृत्तिमा चीनमा पढ्न पठाएको समाचार किशोर श्रेष्ठको जनआस्था साप्ताहिकले सार्वजनिक गरेको सबैलाई जानकारी नै छ । तिनैले अहिले चिनियाँ व्यापारीहरूको विचौलियाको काम गरिरहेका छन् र नागपोखरीमा अखडा नै चलाइरहेका छन् । विचरा, सहिदका छोराछोरीको त के कुरा भयो र ? जो वामदेव-केशवलालका छोराहरुका कारण अरबमा उँट चराएर जिविका धान्न बाध्य छन् ।

तत्कालीन सांसद परि थापा संयोजकत्वको सर्वपक्षीय संसदीय समितिले गृहमन्त्री गौतम चढ्ने गरेको झण्डावाल गाडी नै तस्करीको सुन ओसार-पसारमा संलग्न रहेको प्रतिवेदन बुझाएको थियो, जो संसदको लाइब्रेरीमा सुरक्षित नै रहेको छ ।

सत्ता समीकरणको खेलमा पार्टीको दुई करोड रूपियाँ उमेश गिरीलाई सांसद किन्न दिएर डुबाउने, होटलमा सांसदहरू थुनेर सुरासुन्दरी उपलब्ध गराउने र पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सांसदहरू बन्दी बनाउने कामको नेतृत्वकर्ता पनि उहाँ नै हुनुहुन्थ्यो ।

नेकपा (एमाले) ले टुँडिखेलबाट २०५८ सालमा वामदेव गौतम देशको एक नम्बर भ्रष्टाचारी व्यक्ति भनेर घोषणा गरेको थियो । स्वयं माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा प्रदिप नेपालले त्यस प्रकारको घोषणा गर्नुभएको थियो । पार्टी एकीकरणपछि त्यस्तो घोषणा आफैँ कहाँ पुग्यो ? यो एउटा अनुत्तरित प्रसंग बन्यो र छ ।

नेकपा (एमाले) विभाजन गर्दा २०५५ सालमा वामदेव गौतमले खुमबहादुर खड्कामार्फत ६ करोड रूपियाँ लिएको त पछि खुमबहादुरले नै सार्वजनिक गर्नुभएको थियो । अर्थात्, नेकपा (एमाले)को विभाजनमा प्रायोजन र लगानी स्पष्ट र खुलस्त थियो ।

पुलिसभित्र गुटबन्दी र राजनीतिकरण बढाउने व्यक्तिका रूपमा पनि वामदेव गौतम नै बदनाम हुनुभयो । उहाँले अच्यूतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आफ्नो निहीत स्वार्थका निम्ति प्रहरी प्रमुख बनाउनुभएको थियो, जो प्रहरीभित्र गलत र विभाजनकारी कदम थियो ।

२०७२ सालमा संविधान जारी गर्ने क्रममा मधेसमा भएको आन्दोलन दबाउन गैर-न्यायिक हत्या गराउने गृहमन्त्रीका रूपमा समेत गौतमको नाम ‘विकिलिक्स’ले उल्लेख गरेको तथ्य सार्वजनिक नै रहेको छ ।

उहाँ बर्दियाका जनताले २०७४ को आम निर्वाचनमा तिरस्कार गरेको व्यक्ति हो । त्यसयता उहाँ सदैव लपलपे स्वभाव र बार्गेनिङको राजनीतिमा लिप्त रहनुभयो । स्थायी कमिटीको पहिलो बैठकमा सर्वप्रथम ‘फरक मत’ ल्याएर सरकारविरूद्ध प्रहार शुरू गर्ने अस्थिरताका हिमायतीहरूको शिखण्डी पनि उहाँ नै रहेको तथ्य पनि सर्वविदितै छ । त्यसयता संगठन विभाग प्रमुख, उपाध्यक्ष, श्रीमती र आफू दुबैजना जोडी सांसद बन्दा पनि तृप्त नभएर सधै गुटबन्दी र बार्गेनिङ गरी जनमतविपरित पार्टी र सरकार तहसनहस पार्न सक्रिय एवं अग्रणी व्यक्ति पनि उहाँ नै रहनुभयो । खासमा उहाँलाई पच्छाउँदै र उहाँको महत्वाकांक्षाको घोडा चढेर नै पुष्पकमल दाहाल र माधवकुमार नेपालले पछिल्ला कृत्यहरु गरेको स्पष्ट नै छ ।

तस्कर, माफिया, घुमुवा र भ्रष्टहरूको संरक्षक र मतियार बनेर पार्टी, देश र जनताविरूद्धको घातमा संलग्न व्यक्ति यथार्थमा उहाँ नै हो, जसले बर्दिया र प्यूठानका जनतालाई निर्वाचनमा धेरै झूठा आश्वासन बाँडी चुनाव जितेपछि केही पनि काम नगर्दा जनस्तरमा असन्तुष्टि बढ्नु स्वभाविक थियो । खाली पुलिसको सलामीमा सीमित भएर गलत तत्वहरूको काखमा नाच्ने काम मात्रै उहाँबाट भइरह्यो र चलिरह्यो ।

आफूलाई प्रधानमन्त्रीको दाबेदार भनाएर कहिले ‘राजाबाट प्रमाणपत्र लिएको व्यक्ति प्रधानमन्त्री हुने कानुनी व्यवस्था गर्न जुट्ने’ त कहिले ‘आतंककारी नियन्त्रण गर्ने कानुन बनाउने प्रयासमा लाग्ने’ पनि विगतमा उहाँ नै हुनुहुन्थ्यो । कहिले प्रचण्डको पैसामा आफ्नो ‘बासी गुट’ संचालन गर्नसमेत लज्जाबोध नगर्ने त कहिले एक्लै बहुमत ल्याउन प्रतिक्षारत नेकपा(एमाले) लाई खुमबहादुरको लगानीमा विभाजित गरेर सिंगो कम्युनिस्ट आन्दोलनलाई घात गरेको खलपात्र पनि उहाँ नै बन्नुभयो । यस्ता असंगत, गलत र विरोधाभाषपूणर् क्रियाकलापले उहाँको जीवन भरिपूणर् रहेको छ ।

बर्दियामा उहाँ आफू र श्रीमतीपछि छोरा हरिशदेवको उत्तराधिकार कायम गर्न सक्रिय रहेको नियत उदांगो भइसकेको छ । त्यसको विरोध र प्रतिवाद गर्नेहरू अनेकन् दुःख र भुक्तमान खेप्न बाध्य छन्, तर खास जनमत तिनीहरूकै साथमा रहेको हुँदा जनताबाट वामदेव र उहाँको परिवार अलगअलगजस्तै बनेको छ ।

तस्कर र माफियाको लगानीमा बिलासी जीवन बिताउने नेपाली राजनीतिको एकजना कहलिएको पात्रका रूपमा लिइने नाम वामदेवलाई मूल्य, मान्यता र मानक नै पैसा हो भन्ने राम्ररी थाहा छ । र, पैसा हिलो वा फोहोरमा जहाँ गाडिएको भए पनि दाँतले टिप्न र उपभोग गर्न कत्ति पनि अप्ठेरो नमान्ने प्रवृत्ति उहाँमा विद्यमान रहेको छ ।

नेपाली राजनीतिको सबभन्दा खराब, मूल्यहीन, उपयोग हुने, अस्थिर र भँडुवा व्यक्ति नै वास्तवमा वामदेव हो । यो रूप बदलिरहने जिवित काँचो वायुले देश, पार्टी र जनतालाई पटकपटक सताइरहेको छ । यही ‘काँचो वायु’लाई सबै अस्थिर तत्वहरूले सधै उपयोगी शिखण्डी र हतियारका रूपमा खाली दुरुपयोग गरिरहेको तथ्य स्पष्टै छ । अहिलेको कथित एकता अभियान पनि उहाँको अर्को भ्रम थियो र हो ।

निष्कर्षमा, आफूले जे रोपेको हो, त्यसको परिणाम भोग्न तयार हुनु मात्रै इमान्दारी मानिन्छ । विष रोपेर अमृत सोपान गर्न त कहीँकतै मिल्दैन र पाइँदैन । आज वामदेव गौतमले गरिरहेको व्यवहार र क्रियाकलाप देश, जनता र पार्टीको एकता अनि अग्रगति बिरुद्धको केवल मजाक मात्रै हो । यसले उहाँलाई स्वयं एकजना फगत व्यक्ति र हाँस्य पात्रका रुपमा सीमित गरिरहेको छभन्दा अत्युक्ति हुँदैन ।


प्रतिक्रिया दिनुहोस्