दक्षिण भारतीय फिल्ममा स्वस्तिमासहित तीन जना नेपाली कलाकार

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा तीन जना नेपाली कलाकार देखिने भएका छन् ।उक्त फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता एवं निर्देशन माओत्से गुरुङ र थिएटर आार्टिस्ट उमेश तामाङको अभिनय रहनेछ ।

अभिनेत्री स्वस्तिमाले फिल्म ‘थिरिमाली’मा अभिनय गर्ने निश्चित भएको बताइन् । उनले गत बिहिबार आफूले फिल्म निर्माण पक्षसँग सम्झौैता गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन् ।

साथै अभिनेता गुरुङले पनि यस फिल्ममा देखिन लागेको पक्का भइसकेको बताएका छन् । “निर्माण टिमसँग कुरा भइसकेको छ । म यस फिल्ममा देखिन लागेको खबर पक्का हो ।”

थिरिमाली दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालको तर्फबाट अनन्या फिल्म्सद्वारा निर्माण हुनेछ। राजीव सेट्ठीले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायत कलाकारको अभिनय छ ।

यस फिल्म मलायलमबाहेक हिन्दी र नेपाली भाषामा पनि निर्माण हुँदै छ । नेपालको कपिराइट अधिकार अनन्या फिल्मस्‌ले लिएको छ । नेपालको काठमाडौं र मुस्ताङमा हुने छायांकनको जिम्मा पनि अनन्या फिल्मस्‌ले लिएको छ ।

“१५ मार्चदेखि फ्लोरमा जाने योजना छ । अब हेरौं तोकिएको समयमा जान सकिन्छ कि सकिँदैन,” अनन्या फिल्मले मार्चको मध्यतिरबाट फिल्म छायांकनमा जाने तयारीमा रहेको जनाएको छ ।

अभिनेत्री स्वस्तिमालगायत साउथकी अभिनेत्री पनि हुने तर स्वस्तिमाको पनि महत्त्वपूर्ण भूमिका रहने उनले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्