रक्सी पिएपछि भयो झगडा, आफ्नै साथीमाथि दाउ प्रहार

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


झापा । मादक पदार्थ (रक्सी) सेवन गरेपछि भएको झगडामा आफ्नै साथीमाथि धारिलो हतियार (दाउ) प्रहार गरी घाइते बनाउने १ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका वडानम्बर १० कालीझोरा बस्ने ३३ वर्षीय बसन्त राई छन् ।

प्रहरीका अनुसार राईले आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार (दाउ) प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरीका अनुसार आइतबार साँझ बसन्त र कुसुमले कुसुमको घरमा बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरेपछि दुबैबीच विवाद बढ्दा झगडाको रुप लिएको थियो ।

मादथ पदार्थ सेवनपछि झगडा हुँदा बसन्तले कुसुममाथि दाउ प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

स्थानीयको सूचना पछि इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बसन्तलाई आइतबार राति नै पक्राउ गरेको हो ।

बसन्तले दाउ प्रहार गरी घाइते भएका कुसुमको भने अहिले झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेका बसन्तमाथि छानबिनसँगै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्