टाउको दुख्ने समस्या छ ? नखानुस् यी चिज

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । तपाई टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ ? सामान्य खालको दुखाइ हो भनेर तपाईले वेवास्ता गरिरहनु भएको छ भने त्यो गम्भीर गल्ती पनि हुनसक्छ ।

टाउको दुख्ने रोगहरूमध्ये एउटाको नाम माइग्रेन हो । यसको खास लक्षण भनेकै सहन नसक्ने गरी टाउको दुख्नु हो ।

टाउको दुख्दा वाकवाकी हुने तथा बान्तासमेत हुन्छ । विज्ञहरूका अनुसार यो वंशाणुगत रोग हो । माइग्रेन पुरुषमा भन्दा महिलामा चार गुणा बढी हुने देखिएको छ ।

माइग्रेन पूर्ण रूपमा निको पार्न नसकिए पनि खानपिन तथा दैनिक व्यवहारमा परिवर्तन गरेर कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । कतिपय खानपिन व्यक्तिपिच्छे फरक हुने गर्छ । तर धेरैजसो कुरा समान हुन्छन् ।

माइग्रेन भएको व्यक्तिले खान नहुने चिज

– दहीबाट बनेका परिकारहरू खान हुँदैन । जस्तै चिज र पनिर खाँदा टाउको दुख्ने हुन्छ ।

– रक्सीको सेवन गर्न हुँदैन । विशेषगरी बियर र रेड वाइन सेवन गर्न नहुने विज्ञहरूले बताएका छन् ।

– चकलेटले पनि माइग्रेनमा नकारात्मक असर गर्छ । विशेषगरी कालो चकलेटले टाउको दुख्ने गर्दछ ।

– गुन्द्रुक वा खाँदेको अचार खाँदा पनि टाउको दुख्न सक्ने विज्ञहरूको भनाई रहेको छ । त्यस्तै अजिनामोटो, कफी लगायतका खानेकुराले पनि टाउको दुखाउन सक्ने भएकाले यस्ता खानेकुरा नखान विज्ञहरूको सल्लाह रहेको छ ।

यसैगरी अण्डा, गोलभेडा, प्याज, गहुँको पिठोबाट बनेका परिकार जस्ता खानेकुराले पनि माइग्रेनमा असर गर्ने विज्ञहरूले बताएका छन् ।

तर व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले कुन खानेकुराले कस्तो असर गरिरहेको छ त्यसलाई ख्याल गरेमा माइग्रेन कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ ।

यसबाहेक तनाव नलिने, मौसम परिवर्तन हुँदा ख्याल गर्ने, चिकित्सकको सिफारिसमा औषधी सेवन गर्ने जस्ता कार्यले माइग्रेनलाई कम गर्न सकिन्छ ।

 


प्रतिक्रिया दिनुहोस्