चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ।

आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो।

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भयो।

कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको दुई प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलको १४औँ मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा नै कालभैरव हेटौँडा खेलमा फर्कियो। पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौँडाका लागि बराबरी गोल गरे।

उपाधिसँगै कालभैरवले रु एक लाख ५१ हजार प्राप्त गरेको छ। उपविजेतामा सिमित बुटवलले रु ७५ हजारमा चित्त बुझाएको छ।

कालभैरव हेटौँडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए। उनले नगद रु १० हजार प्राप्त गरे।

यस्तै चितवन भेट्रान रातोका रवीन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए। उनले प्रतियोगिताभर सात गोल गरेका थिए।

उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेट्रानविरुद्ध गरेका थिए।

कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बू उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए।

उनीहरुले नगद रु पाँच÷पाँच हजार प्राप्त गरे।

चितवन भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्