नागरिकता माग गर्दै प्रशासन कार्यालय अगाडि युवाहरुको प्रदर्शन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


जनकपुरधाम । नेपाली नागरिकताको प्रमाणपत्र माग गर्दै धनुषाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

जनसरोकार मञ्च धनुषाको अगुवाइमा स्थानीय युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

विभिन्न वहानामा युवा–युवतीहरुलाई नागरिकताविहीन बनाइएको भन्दै जनसरोकार मञ्चका अध्यक्ष सत्यनारायण साहले नागरिकताविहीनहरुको पक्षमा कडा आन्दोलन गर्ने चेतावनी दिए । प्रतिनिधिसभा बैठक सुरु भएपछि यस आन्दोलनलाई पुन: निरन्तरता दिने उनले बताए ।

‘नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ,’ साहले भने, ‘धारा ११ को उपधारा ३ मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज बालिक भए पछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भनिएको छ । तर, संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन छन् ।’

नागरिकता प्राप्त गर्न नसकेकै कारण उनीहरु उच्च शिक्षा लिनबाट समेत वञ्चित छन् । राहदानी बनाउन नसकेर वैदेशिक रोजगारीमा जान समेत नसकेका जनसरोकार मञ्चका अध्यक्ष साहले बताए । ‘बैंक खाता खोल्न सकेका छैनन् । यहाँसम्म कि आफ्नै देशमा, आफ्नै देशका मोबाइल कम्पनीहरुको सिमसम्म आफ्नो नामबाट झिक्न सकिरहेका छैनन्,’ अध्यक्ष साहले भने ।

गृहमन्त्रालयको २०७० चैत २० गतेको पत्र अनुसार देशभरिका जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्ध नागरिकका सन्तानहरुलाई प्रदान गर्दै आएको नागरिकता वितरण बन्द गरेको थियो ।

नयाँ संविधान जारी भएको ५ वर्ष बित्ती सक्दा पनि जिल्ला प्रशासन कार्यालयहरुले पुरानो निर्देशनको आधारमा योग्य नेपाली नागरिकहरुलाई नागरिकताबाट वञ्चित गर्नु मानव अधिकारको चरम हनन् भएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुघ्न साहले टिप्पणी गरे ।

जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकता दिनु पर्ने माग राखी जनसरोकार मञ्चले फागुन ६ गते धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्