ललितपुरमा ७८ वर्षीय बृद्धलाई नशालु पदार्थ मिसाइएको फ्रुटी खुवाएर लुटपाट

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा चोरी तथा लुटपाटका घटना बढ्दै गएका छन् ।

लुटेराहरुले घरमा कोही नभएको मौका छोपेर ढोका तथा ढोकामा लगाइएको ताला फुटाएर नगदसहित धनमाल चोरी गर्ने गरेका छन् ।

केही दिन अगाडि मात्रै काठमाडौं र ललितपुर जिल्लामा गरी लुटेराहरुले दिउँसै घरको ढोका र ताला फुटाएर १७ लाख रुपैयाँ बराबरको धनमाल लुटेका थिए ।

यस्तै, ललितपुरको मंगलबजारमा १ व्यक्ति दिउँसै लुटिएका प्रहरीले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिक व्यक्ति लुटिएका हुन् ।

लुटिनेमा ललितपुरकै गोदावरी नगरपालिका-६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापा छन् । अपरिचित व्यक्तिले उनलाई नशालु पदार्थ मिसाएको जुस (फ्रुटी) खुवाएर लुटपाट गरेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार थापाको साथबाट नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटिएको हो ।

प्रहरीले लुटेराहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्