अभियन्ताले भत्काए कमलपोखरीको बीचमा बनाइएको कंक्रिट

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले मार्चपास गरेको छ ।

सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलमा विरोध प्रदर्शनपछि कमल पोखरीसम्म मार्चपास गरेका थिए ।

कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको बीच भागमा बनाइएको कंक्रिट संरचनासमेत भत्काएका थिए ।

उक्त संरचना भत्काउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

सर्वोच्च अदालतमा विचाराधिन रहेको कमल पोखरीमा मुद्दाको वेवास्ता गर्दै रातारात पोखरीको बीचमा सिमेन्ट ढलान गरिएको हो ।

पोखरीमा लेउ नलागोस भनेर पानीको फोहराको लागि सिमेन्ट ढलान गरेको महानगरपालिकाले जनाएको छ ।

कंक्रिट कमल फूल बनाउने महानगरको योजनाको सम्पदाविद र अभियान्ताले विरोध गरेपछि महानगरले कमल पोखरीको बीचमा कंक्रिटको सता सेरामीकको कमल फूल राख्न लागेको बुझिएको छ ।

साथै पोखरीको सबै जैविक माटो समेत निकालेर फोहरासहितको पोखरी बनाउने तयारी भईरहेको जनाइएको छ ।

अदालतमा कमल पोखरीको मुद्धा विचाराधिन रहेको अवस्थामा समेत रातारात पोखरी संरचना निमार्ण गर्नुले सरकारको नैतिकता माथि समेत प्रश्न उठेको अभियन्ताहरुको भनाइ छ ।

अभियन्ताहरुको कमलपोखरीको काम तत्काल रोक्न सरोकारवालालाई अपिल समेत गरेको छ ।

स्थानीय क्लबका सदस्यहरुले भने पोखरीको पुननिमार्णमा विरोध गर्न आवश्यक नभएको र सौन्दयकरणले पोखरी राम्रै हुने बताउँदै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्