२५ लाख रुपैयाँ नगदसहित बारामा २ जना भारतीय नागरिक पक्राउ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


कलैया । स्रोत नखुलेको २५ लाख नगदसहित बारा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन् ।

भारतीय नम्बर प्लेट बीआर-०५-के-०७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बुधबार राति ११:३० बजेतिर कलैया उपमहानगरपालिका-८ बरेवा टोलबाट पक्राउ गरिएको हो ।

शंकाको आधारमा चेकजाँच गर्दा अवैध रकम भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुको साथबाट २५ लाख ३५ हजार रुपैयाँ नगद फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

‘सोधपुछका क्रममा उनीहरूले सो रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो,’ डीएसपी मिश्रले भने ।

प्रहरीले उनीहरु हुण्डी कारोबारी हुनसक्ने जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्