सरकारमा जाने लाइनमा जसपा

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।

सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफल गरेका थिए ।

नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित भएका छन् । जसपाका नेता शरत्सिंह भण्डारीले अब बन्ने नयाँ सरकारमा जसपा सहभागी हुन तयार रहेको बताए । संघीयता, गणतन्त्र र लोकतन्त्र सुदृढ गर्न पार्टी सरकारमा जान सक्ने उनले बताए ।

‘विगतबाट पाठ सिक्दै लोकतान्त्रिक संस्कार बोकेको सरकार बनाउन आवश्यक छ’, भण्डारीले भने, ‘त्यस्तो सरकारमा जान जसपा तयार छ ।’

जसपाका कार्यकारिणी समिति सदस्य केशव झाले भने सरकारमा जाने नजाने विषयमा पार्टीभित्र औपचारिक रूपमा छलफल नभएको बताए । ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । कुन विकल्पमा जाने भन्नेबारे छलफलमै छौं’, उनले भने ।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । बाँकी ३२ सांसद र नेकपाको दाहाल–नेपाल समूह मिलेमा नयाँ सरकार बन्न बहुमत पुग्ने जसपाका नेताहरूको विश्लेषण रहेकाे खबर नागरिक दैनिकमा छ ।

जसपा स्रोतका अनुसार दाहाल–नेपाल समूह र जसपा मिलेर सरकार बन्न सक्ने अवस्था नआए पनि सरकारमा जान जसपालाई बाटो बन्द हुने छैन । बहुमत पुग्न १ सय ३८ जना सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया दिनुहोस्