हल्लाले ‘डाउन’ भएको सेयर बजार लयमा फर्कियो, नेप्से परिसूचक १२ अंकले बढ्यो

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाबारे फैलिएका हल्लाका कारण मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको थियो। बजार एक्कासी घटेपछि लगानीकर्ताहरु आत्तिएका थिए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आज सेयर बजार पुरानै लयमा फर्किएको छ। यद्धपी नेप्सेको बेबसाइटमा आएको प्राविधिक समस्याका कारण आज लगानीकर्ताहरुले हैरानी बेहोरे।

आज नेप्से परिसूचक अघिल्लो दिनभन्दा १२.५६ अङ्क अर्थात् ०.४९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २५९९.०८ अङ्कमा बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६२४.७८५५ र कममा २४९७.७३०४ पुगेको थियो।

आज १६७२६४७२ कित्ता सेयरको किनबेच भई ६७०१८७२४३८.७६ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २०४ कम्पनीको सेयर किनबेच भएको हो।

आज आइएमई जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा गिरावट आयो।

निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ कायम भएको छ।

बुधबार प्राविधिक समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो। प्रणालीमा गडबढी आउँदा निफ्राको भाउ १०० प्रतिशत घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो।

यसले समग्र नेप्से सूचकलाई पनि प्रभावित बनायो थियो । तर नेप्सेले समस्या समाधान गरी सूचक पनि सच्याएको थियो।

निफ्राको मूल्य घटेपनि खरिद चाप भने उच्च देखिएको छ। बुधबारको कारोबार समाप्ती हुने बेलासम्म निफ्राको सेयरका लागि डेढ लाख कित्ताभन्दा बढीका लागि खरिद आदेश छ भने करिब ५१ हजार कित्ता मात्र बिक्रीमा राखिएका थिए ।

कारोबार सुरु भएको दुई सातामा निफ्राको सेयर मूल्य तीब्र उतारचढावबीच ३४० रुपैयाँदेखि ७२६ रुपैयाँसम्म पुगिसकेको छ।

 


प्रतिक्रिया दिनुहोस्