बाउको हत्या गरेपछि छोराले भने– भर्‍याङबाट लडेर मृत्यु भयो !

प्रकाशित मिति : असार २, २०७८ बुधबार


पोखरा । घरायसी विवादका कारण आफ्नै बुवाको हत्या गरेको अभियोगमा कास्की प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ पाउँदुरकोट घर भइ हाल पोखरा महानगरपालिका–३२ महकुना बस्ने रामकृष्ण काकी छन् ।

प्रहरीका अनुसार सोमबार बिहान रामकृष्णका बुवा जुमबहादुर कामीको भर्‍याङबाट लडेर मृत्यु भएको खबर आएको थियो । जुमबहादुरको मृत्यु भएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा प्रारम्भिक छानबिनका क्रममा नै घटना शंकास्पद देखिए पछि प्रहरीले जुमबहादुरका छोरा रामकृष्णसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा पनि उनले भर्‍याङबाट लडेर नै बुवा जुमबहादुरको मृत्यु भएको बयान दिएका थिए ।

तर, परिवारका सदस्य र छिमेकी समेतसँग सोधपुछ गर्दा बाबुछोराबीच विवाद भएको र विवादकै क्रममा रामकृष्णले बाबु जुमबहादुरलाई काठले प्रहार गरेको खुलेको थियो ।

रामकृष्णले काठले प्रहार गर्दा ५८ वर्षीय जुमबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका रामकृष्णविरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्