अदालत भागेका दुईजना थुनुवा भारतबाट पक्राउ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट फरार भएका दुईजना थुनुवा भारतबाट पक्राउ परेका छन् ।

सोमबार म्याद थपका लागि जिल्ला अदालत लगिएका उनीहरु क्यान्टिनमा खाजा खाने बहाना बनाएर फरार भएका थिए ।

प्रहरीको आँखा छलेर भाग्न सफल भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश नम्बर–१ प्रहरी कार्यालयको टोलीले उनीहरुको खोजी तीव्र बनाएको थियो ।

अदालतबाट मोरङ कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका थिए ।

तीमध्ये शेख भारतको अररिया जिल्लाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अर्का थुनुवा चौधरीको पनि व्यापक खोजी भइरहेको उनले बताए ।

मोरङको जहदा गाउँपालिको डुमरिया नाकादेखि करिब दुई किलोमिटर दक्षिण भारतमा लुकेर बसेको अवस्थामा शेख पक्राउ परेका हुन् ।

उनी गाउँको दिदी पर्ने एकजना महिलाको घर पुगेका थिए । उनीविरुद्ध ब्राउनसुगरको कारोबारी भएको र लागुऔषधसम्बन्धी अपराधमा मुद्दा चल्ने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्