१०० प्रतिशतले मूल्य घटेको देखिए पछि निफ्राको शेयर कारोबार बन्द

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाल स्टक एक्सजेञ्ज (नेप्से)को टीएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर कारोबार रोक्का भएको छ ।

बुधबार शेयर बजारमा नियमित कारोबार शुरु हुँदा नेप्से परिसूचक केही छिनमै बढ्ने र केही छिनमै घट्ने समस्या देखिएको थियो । यसबीचमा निफ्राको शेयर मूल्य शतप्रतिशतले घटेको देखिएको थियो ।

कुनै पनि कम्पनीको शेयर मूल्य एक कारोबार दिनमा १० प्रतिशतभन्दा बढी घटी वा बढी हुन नहुने भए पनि निफ्राको शेयर मूल्य भने १०० प्रतिशतले घटेको देखाइएको थियो ।

शेयर बजारका सक्रिय लगानीकर्ताहरुले शंकास्पद रुपमा बजारलाई प्रभावित गर्ने काम भएको भन्दै विरोध जनाउन थालेपछि नेप्सेले आफ्नो प्रणालीको परीक्षण गरेको जनाइएको छ ।

बुधबार मध्याह्नतिर नेप्सेले एक सूचना जारी गर्दै निफ्राको कारोबार निलम्वन गरिएको बताएको छ । निफ्रामा मात्रै प्राविधिक समस्या देखिएकाले कारोबार बन्द गरिएको नेप्सेको भनाइ छ ।

नेप्सेले निफ्रा बाहेक अन्य कम्पनीको शेयर कारोबार भने पूर्ववत रुपमा नै भइरहेको जानकारी दिएको छ । यद्यपि इन्डेक्स डाटा भने गलत देखिएकाले सच्याउने काम भइरहेको नेप्सेले आफ्नो सूचनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्