‘सर्वोच्चको फैसलाले देशलाई अध्यारो सुरुङमा पर्नबाट जोगायो’

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले सर्वाेच्च अदालतको फैसलाले देशलाई अध्याराे सुरुङमा पर्नबाट जाेगाएकाे ठहर गरेकाे छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधि सभालाई मात्र बचाएको नभएर संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको बताएका छन् ।

“फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो,” विज्ञप्तिमा भनिएकाे छ ।

विज्ञप्तिमा अदालतकाे फैसलाले इतिहासका विभिन्न कठिन मोडहरुमाझैँ फेरि एकपटक नेपालको अदालत सबैप्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको उल्लेख छ ।

“सर्वोच्च अदालतको यो निर्णयले इतिहासका विभिन्न कठिन मोडहरुमा झै फेरि एकपटक नेपालको अदालत सबैप्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ । हाम्रो पार्टी यसको उच्च मूल्यांकन गर्दछ”, विज्ञप्ति भनिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्