सर्वोच्चको फैसलापछि ठाउँठाउँमा दीपावली

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


काठमाडौं । सर्वोच्च अदालतले संघीय संसदको प्रतिनिधि सभा पुनः स्थापना गरेपछि देशभर विभिन्न ठाउँमा खुसीयाली मनाइएको छ ।

सर्वोच्चले संसद पुनःस्थापना हुने फैसला सुनाएपछि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरी खुसीयाली मनाइएको हो ।

काठमाडौंको माइतीघर मण्डलासहित उपत्यका विभिन्न स्थानसहित उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालागञ्ज, सुर्खेत, धनगढी लगायत ठाउँमा खुसीयाली मनाइएको हो ।

राजनीतिक दलका नेता–कार्यकर्ता, स्वतन्त्र नागरिक र सामाजिक अगुवा तथा युवाहरुले देशका विभिन्न ठाउँमा संसद पुनःस्थापनाको खुसीयाली मनाएका छन् । सर्वोच्चले संसद विघटन बदरको फैसला सुनाएसँगै युवाहरुले सडकमा निस्किएर खुसीयाली मनाएका हुन् ।

संसद विघटनको खुसीयालीमा काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले दीप प्रज्वलन गरेका छन् ।

उनीहरुले संसद विघटनलाई बदर गर्ने सर्वोच्चको फैसला ऐतिहासिक भएको समेत बताएका छन् । सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको समेत उनीहरुको भनाइ थियो ।

विराटनगर, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बुटवल, दाङ, नेपलागञ्ज, सुर्खेत, धनगढी लगायत ठाउँमा पनि युवाहरुले संसद पुनःस्थापना भएको खुसीयालीसहित दीपावली मनाइएको छ ।

संसद पुनःस्थापना गरेर सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको उनीहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटनको घोषणाविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए ।

संसद विघटनविरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्व तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा २ महिनासम्म संसद विघटनको मुद्दामा बहस चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्