भोलि चितवनमा प्रचण्ड–नेपालको विजय सभा

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बुधबार(भोलि) चितवनमा विजयसभा गर्ने भएको छ ।

पूर्वनिर्धारित सभालाई सर्वोच्चको संसद पुनः स्थापित गर्ने आदेश लगत्तै विजयसभामा परिणत गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध भोलि बुधबारका लागि चितवनमा विरोध सभाको कार्यक्रम राखिएको थियो ।

उक्त सभामा सम्बोधन गर्न प्रचण्ड र नेपाल मंगलबार साँझ ४ बजे उडानबाट भरतपुर गएका थिए । तर, सर्वोच्च अदालतले मंगलबार नै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेपछि प्रचण्ड–नेपालको कार्यक्रम विजयसभामा परिणत गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

‘प्रतिनिधि सभा विघटन गर्ने कदम बदर भएसँगै सो सभालाई विजय सभामा परिणत गरेका छौँ’, दाहालले नेपालखबरसँग भनिन्, ‘लाखौं जनसमुदायसामु अध्यक्षद्वयले खुसी साट्नुहुनेछ।’

विघटन खारेज भएको निर्णयको खुशीयालीमा प्रचण्ड–नेपालले एकापसमा लड्डु बाँडेर खुशीयाली साटासाट गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्