हामी अहिले रक्तपातहीन युद्धमा छौं, हतियार देखाएर दबाउन खोजिँदै छ- प्रचण्ड

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले ‘सही फैसला’ गर्छ भन्ने विश्वास आफूमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु अहिले रक्तपातहीन युद्धमा रहेको पनि बताए । अहिले चलिरहेको युद्ध जित्नैपर्ने दायित्व रहेको पनि उनले बताए ।

‘नेपाली जनताले वर्षौंसम्म गरेको संघर्षबाट प्राप्त उपलब्धिको अपहरण गर्ने अपहरणकारीका विरुद्ध एउटा नयाँ प्रकारको युद्ध मै छौं । तर, त्यो रक्तपातपूणर् र हिंसात्मक छैन,’ प्रचण्डले भने, ‘पुस ५ गतेदेखि आज (फागुन ११ गतेसम्म) नयाँ प्रकारको युद्ध लडिरहेका छौं ।’

उपलब्धिको अपहरण गर्ने पक्ष हतियार प्रदर्शन गरेर दबाउन खोज्नेतिर लागेको पनि प्रचण्डले आरोप लगाए । ‘उपलब्धिको अपहरण गर्ने पक्ष हतियार प्रदर्शक हुन खोज्छ उ, राज्यको शक्ति प्रयोग गरेर दबाउन खोज्छ ऊ,’ प्रचण्डले भने, ‘हामीचाहिँ रक्तपातहीन युद्ध, शान्तिपूणर् युद्ध, नयाँ प्रकारको युद्धमा छौं । अहिलेको युद्ध हामीले जित्नु छ ।’

उपलब्धिको रक्षा गर्न अहिले लडाइँ चलिरहेको उल्लेख गर्दै प्रचण्डले अदालतले पनि सही निणर्य गर्छ भन्ने विश्वास आफूमा भएको बताए । ‘हाम्रो अदालतप्रति विश्वास छैन भन्न मैले खोजेकै छैन,’ प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु, अदालतमा मुद्दा चलिराख्या छ अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ ।’

धेरै दुःखले पार्टी एकीकरण गरिएको उल्लेख गर्दै प्रचण्डले अहिले पार्टी फुटाउन धेरै ठूलो कसरत भएको पनि बताए । ‘पार्टी धेरै दुःखले एकता गरिएको हो । हामी सबैको योगदान त्यसमा छ । त्यसलाई विभाजन गर्ने निकै ठूलो कसर अहिले भइराख्या छ, भइ नै सक्या छ,’ प्रचण्डले भने ।


प्रतिक्रिया दिनुहोस्