काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन र नयाँ कार्यक्रम घोषणाको तयारी गरेका छन् । मंगलबार(आज) एक कार्यक्रम आयोजना गरी नयाँ टेलिभिजन च्यानल र कार्यक्रम घोषणा गर्न लागिएको हो ।
लामिछानेले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आजबाट नयाँ यात्राको शुरुवात हुने जनाकारी दिएका थिए ।
‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं’ मंगलबार रविले सामाजिक सञ्जालमा लेखेका थिए । उनीसहित न्यूज २४ का पूर्व सहकर्मी प्रमोद न्यौपाने लगायत उक्त टिममा रहेको जनाइएको छ ।
टेलिभिजन टिमका अनुसार टेलिभिजन च्यानलको नाम ‘ग्यालेक्सी’ हुनेछ ।
उक्त टेलिभिजनबाट न्यूज २४ मा लामिछानेले सञ्चालन गरेको ‘सिधा कुरा’ शैलीकै कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ‘सिधा कुरा’को पछाडि केही शब्द जोडेर नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ ।
कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा न्यूज २४ टेलिभिजन र लामिछानेबीच विवाद भएको थियो । उक्त कार्यक्रम अहिले पनि न्यूज २४ बाट प्रसारण भइरहेको छ । त्यसैले रविले त्यस्तै खालको नयाँ कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।
गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालन हुन लागेको टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् । टेलिभिजन आगामी वैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ ।
भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।
Posted by Rabi Lamichhane on Monday, February 22, 2021