ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन !

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन परेको छ ।

प्रधानमन्त्री ओली ७० वर्षमा प्रवेश गरेका छन् भने विप्लव ५३ वर्षमा प्रवेश गरेका छन् ।

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा ओलीको जन्म भएको थियो । उनी अहिले देशका प्रधानमन्त्री र नेकपा ओली समूहका अध्यक्ष रहेका छन् ।

त्यस्तै प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव ‘विप्लव’ को आज जन्मदिन परेपछि सामाजिक सञ्जालमा उनका समर्थक र सुभेच्क्षुकले बधाइ एवं शुभकामना दिइरहेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्म रोल्पाको केवरीस्थित मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा भएको थियो । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह भन्दै प्रतिवन्धित गरेपछि उनी पछिल्लो समय भूमिगत रहेका छन् ।

केही दिन यता सरकार र विप्लव समूहबीच वार्ताको तयारीबारेका समाचारहरु सार्वजनिक भएका छन् । विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि तयार रहेको जनाएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा बनेपछि अध्यक्ष र प्रधानमन्त्री बनेका ओलीले संसद विघटन गरेसँगै नेकपा राजनीतिक रुपमा विभाजित बनेको छ । उनले एक समूहको नेतृत्व गरिरहेका छन् भने प्रचण्ड र माधव नेपालले अर्को समूहको नेतृत्व गरिरहेका छन् ।

संसद विघटन विरुद्ध प्रचण्ड माधव समूह आन्दोलनमा उत्रिएपछि ओलीले पूर्व माओवादी नेता विप्लवसँग वार्ता गर्न खोजेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्