नारायणहिटी अगाडि उभिएर विद्यार्थीहरुले ‘प्रतिगमन’लाई जुत्ता हान्ने !

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटन विरुद्ध सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ ।

प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन गर्ने तयारी नेकपाको छ ।

मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोध सभा गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले पनि सोमबार विरोधका कार्यक्रम आयोजना गरेको छ ।

विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको जनाएको छ ।

नारायणहिटी संग्रालय अगाडि ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव अनेरास्ववियुका सह संयोजक रञ्जित तामाङले जानकारी दिए।

प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम दिउँसो २ बजेलाई तय गरिएको उनले बताए ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष आन्दोलनमा उत्रिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्